नेप्से परिसूचक १९ सय बिन्दु उक्लिएसँगै सातामै लगानीकर्ताको सम्पत्ति साढे ९१ अर्बले बढ्यो

काठमाडौं । लामो समयपछि सेयर बजारमा उछाल आएको छ । नेप्से परिसूचक उकालो लागेसँगै लगानीकर्ताको सम्पत्ति साढे ९१ अर्बले बढेको छ । बजार बुलिस ट्रेनमा देखिन थालेसँगै बजार पुँजीकरण सातामै ९१ अर्ब ५८ करोड ६७ लाखले बढेको छ । अघिल्लो साता २६ खर्ब ७३ अर्ब २० करोड ८५ लाख रहेको कुल बजार पुँजीकरण यो साता २७ खर्ब ६४ अर्ब ७९ करोड ५३ लाख कायम भएको हो ।

यो साता ४ अर्ब ३५ करोड ४८ लाख बराबरको १ करोड ३६ लाख ६० हजार ८१६ कित्ता धितोपत्र खरीद बिक्री भएको छ । गत साताको अन्तिम कारोबार दिन ५१ करोड ६८ लाखभन्दा बढीको धितोपत्र खरीद बिक्री भएको थियो । यो साता औषतमा १ अर्ब ८ करोडभन्दा बढीको कारोबार भएको देखिन्छ । यस आधारमा पछिल्लो साता कारोबार रकममा समेत वृद्धि भएको देखिन्छ ।

लामो समय १ हजार ९०० विन्दुमुनी रहेको नेप्से परिसूचक यो साता उक्त विन्दुभन्दा माथि उक्लिएको छ । गत साताको अन्तिम कारोबार दिन १८५८.४९ विन्दुमा रहेको नेप्से परिसूचक यो साताको कारोबारमा ६३.६७ विन्दु माथि उक्लिएको हो ।

चालू आर्थिक वर्षको तेस्रो त्रैमासको अन्त्य भैसक्दा सूचीकृत कम्पनीहरूले धमाधम लाभांश सार्वजनिक गरिरहेका छन् । गत गतको भदौ २ गते हालसम्मकै उच्च विन्दु कायम गरेको नेप्से हाल १९२२.१६ विन्दुमा रहेको छ ।

यो साता बजारमा खरीद चाप बढ्दा कारोबार मापक सूचकहरूमा सकारात्मक प्रभाव परेको हो । एक वर्षभन्दा बढी समेत घटेको बजारले अब भने लाभांशको सकारात्मक प्रभावसँगै गति लिने विश्वास लगानीकर्ताको छ । बैंकिङ प्रणालीमा देखिएको तरलता अभावसँगै प्रभावित बन्दै आएको सेयर बजार अब भने केहि माथि उक्लने देखिएको छ ।

यो साता अन्य समूहको उपसूचक सर्वाधिक ८.३३ प्रतिशत बढ्यो
यो साता सबै समूहगत उपसूचकहरू बढेका छन् । गत साता धितोपत्र दोस्रो बजार एक दिन मात्र खुला भएको थियो । गत साताको अन्तिम दिनको तुलनामा यो साता अन्य समूहको उपसूचक सर्वाधिक ८.३३ प्रतिशतले बढेको छ । उपसूचकमा भएको वृद्धिको आधारमा अन्य समूहका लगानीकर्ताले सर्वाधिक कमाएको देखिन्छ ।

अन्य समूहसँगै वित्तको ६.०१ प्रतिशत, लगानीको ५.०४ प्रतिशत, जलविद्युतको ४.९५ प्रतिशत, विकास बैंकको ४.३६ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४.२२ प्रतिशत र निर्जीवन बीमा समूहको ३ .९८ प्रतिशत उपसूचक बढेको छ ।

यो साता गत साताको अन्तिम कारोबार दिनको तुलनामा व्यापारिक समूहको ३.५८ प्रतिशत, बैंकिङको ३.५७ प्रतिशत, जीवन बीमाको ३.४२ प्रतिशतले बढेको छ । लघुवित्तको ३.०१ प्रतिशत, होटल तथा पर्यटन समूहको २.८० प्रतिशत र म्युचुअल फण्डको ०.५२ प्रतिशत उपसूचक बढेको छ ।

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स