आजबाट वैदेशिक रोजगारीमा गएका नेपालीहरुले आईपीओ मा १० प्रतिशत आरक्षण पाउने

काठमाडौं । वैदेशिक रोजगारीमा गएका नेपालीहरुका लागि प्राथमिक सेयर निष्काशन (आईपीओ ) मा १० प्रतिशत आरक्षण दिने व्यवस्था आजबाट लागु भएको छ। नेपाल धितोपत्र बोर्डले कार्तिक १७ गतेदेखि लागु हुनेगरि निष्काशन तथा बाँडफाँट (छैठौं संशोधन) निर्देशिका, २०७९ जारी गरेसँगै अब विदेशमा बस्ने नेपालीहरुले नेपालमा निष्काशन हुने आईपीओमा आरक्षण पाउने भएका हुन्।

जसअनुसार संगठित संस्थाले सेयरको प्रारम्भिक सार्वजनिक निष्काशन गर्दा निष्काशित सेयरको १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारी गरिरहेका नेपालीका लागि छुट्याई बाँडफाँड गर्न पर्ने व्यवस्था छ ।

यसरी छुट्याएको सेयर निष्काशन गर्दा निष्काशन तथा बिक्री प्रबन्धकले सर्वसाधारणको लागि निष्काशन गर्नु अगावै १५ दिनको अवधि तोकि आव्हानपत्र प्रकाशित गर्नुपर्नेछ। निष्काशित शेयरमा आवेदन दिंदा बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा रहेको विप्रेषण (रेमिट्यान्स) बचत खाता मार्फत मात्र भुक्तानी गर्न पर्नेछ।

रेमिट्यान्स बचत खाता भन्नाले नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकको बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थामा सम्बन्धित व्यक्तिको नाममा रहेको रेमिट्यान्स बचत खाता हो। आवेदन गर्न रेमिट्यान्स बचत खातामा पछिल्लो छ महिनामा कम्तीमा पचास हजार नेपाली रुपैयाँ सम्बन्धित व्यक्तिले आफु रोजगार रहेको मुलुकबाट जम्मा गरेको हुनुपर्नेछ ।

विदेशमा बस्ने नेपालीलाई निष्काशन गरिएको सेयर बाँडफाँड भए पश्चात मात्र सर्वसाधारणको लागि प्रारम्भिक सार्वजनिक निष्काशन गर्नु पर्नेछ। विदेशमा बस्ने नेपालीलाई निष्काशित सेयर बिक्री नभई बाँकी रहन गएमा त्यस्तो सेयर सर्वसाधारण समूहमा थप गरी जारी गर्नु पर्नेछ।

निर्देशिका अनुसार विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकका लागि हितग्राही खाता खोल्दा विद्युतीय माध्यमबाट समेत ग्राहक पहिचान विवरण रुजु गरी हितग्राही खाता खोल्न सक्ने ब्यबस्था छ। विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकहरुका लागि बोर्डबाट धितोपत्र खरिद दरखास्त संकलन सम्बन्धी कार्य गर्न अनुमति प्राप्त आस्वा सदस्य बैंक वा वित्तीय संस्थाले विद्युतीय माध्यमबाट सिआरएन नम्बर लिई आवेदन दिने व्यवस्था गर्न सकिने छ।

विदेशमा बसी रोजगार गरिरहेका नेपाली नागरिकले नेपालमा रहेका सर्वसाधारणलाई छुट्याएको सेयरमा आवेदन दिन पाउने छैनन् ।

[embeddoc url=”https://hamroartha.com/wp-content/uploads/2022/11/dhitopatra-board-nirdasika.pdf” cache=”off”]

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स