काठमाडौं । अर्थतन्त्रको ऐनाको रुपमा हेरिने सेयर बजार पछिल्लो समय अर्थतन्त्रमा देखिएका सूचकहरूको अस्वभाविक उचार चढावले पुँजी बजारले पनि स्पष्ट यात्रा तय गर्न सकिरहेकोे छैन ।
केहि सातादेखि नेप्से परिसूचक १८ सय बिन्दुको आसपासमै रुपल्लिराखेको छ भने कारोबारको हिसावले वुलिस बजारको उच्चतम बिन्दुबाट हालको कारोबारलाई नियाल्दा विगत अघिल्लो बेरिस ट्रेन्डको न्यूनतम कारोबारभन्दा पनि औसत रुपमा कम कारोबार भइरहेको छ । नेप्स १८८८ जाँदा खेरि उच्चतम कारोबार २ अर्ब ५३ करोडको कारोबार भएको थियो भने बेरिस ट्रेन्डको औसत कारोबार २० करोडमा खुम्चिएको थियो ।
विगत बुलिस ट्रेनमा ३२२७ नेप्से परिसूचक पुग्दै गर्दा करिब २१ अर्बको उच्चतम कारोबार भएको थियो भने हाल बेरिस ट्रेनको न्यून बिन्दुमा आईपुग्दा औसत कारोबार लगभग ५० करोडको हाराहारीमा भएको देखिन्छ । कारोबार हिसावले पनि पुँजी बजार बेरिस ट्रेन्डको अन्तिम चरणमा भएको असहजै अनुमान लगाउन सकिन्छ ।
विगतको ट्रेन्डहरूलाई नियाल्दा खेरि ४२/४३ महिना बुलिस रहने र ३०/३५ महिना बेयरिस रहने मार्केटको ट्रेन्ड हुन्थ्यो । हालको ट्रेन्डलाई नियाल्दा १४ महिनाको बुलिस ट्रेन्ड सकिएर १५ महिनाको बेयरिस ट्रेन्ड सुरु भइसकेको छ । समयको हिसाबले पनि बेयरिस ट्रेन्डको अन्तिम बिन्दुमा छ भने ब्याजदरको हिसाबले सेयर बजारले स्पष्ट गति लिन सकेको छैन ।
व्यवसायिक दृष्टिकोणले १७÷१८ प्रतिशतको ब्याजदरले व्यवसायिक सफलता हुन नसक्ने हुनाले पनि व्यवसायिक कर्जाको मागमा कमी आएको छ । र ब्याजदर बढाउँदैमा बैंकहरूले चाहे अनुरुप निक्षेप पनि बढ्न सकेको छैन । धेरै आयातित वस्तु अझै पनि प्रतिबन्धित छन् । चाडपर्व लक्षित आयातित वस्तुहरू नेपाल भित्रिएर बिक्री वितरण भई बैंकिङ प्रणालीमा ती पैसाहरू जम्मा हुने क्रममा छन् । र सामान्य आयातभन्दा अन्य चाडपर्व लक्षित आयात कम हुनेछन् । र चाडपर्वपछि विगत वर्षहरूको झै बैकिङ प्रणालीमा निक्षेप बढ्ने क्रम यस पटक पनि निरन्तरता पाउने देखिन्छ ।
त्यसैगरी नजिकिएको संसदीय र प्रादेशिक चुनावले पनि बैंकिङ प्रणालीमा तरलता सहज बनाउने अपेक्षा गर्न सकिन्छ । एउटा राज्यले गर्ने चुनावी खर्च हो भने अर्को उम्मेद्वारहरूले व्यक्तिगत र पार्टीगत रुपमा पनि चुनाव जित्नको लागि एथेष्ट खर्च गर्नेछन् ।
जुन स्थानीय तहको चुनावभन्दा अहिलेको चुनावमा बढी खर्च र बैकिङ प्रणालीभन्दा बाहिरको ‘कालोधन’ प्रयोगमा आउने विगतका चुनावहरूले पनि पुष्टिगरिसकेको छ । त्यसकारण पनि बैंकिङ प्रणालीमा तरलता सहज हुने अनुमान गर्न सकिन्छ भने विगत वर्षभन्दा यस वर्ष विकास खर्चले पनि केहि अग्रता लिएको छ, जसले गर्दा बैंकिङ प्रणालीमा तरलता सहज हुने अनुमान गर्न सकिन्छ ।
त्यसैगरी वैदेशिक रोजगारीबाट भित्रिने रेमिट्यान्सको मात्रा पनि विगतका वर्षहरूमा भन्दा बढेकै तथ्यांक सार्वजनिक भएका छन् । अहिलेको कारोबार स्थितिलाई हेर्दा ‘पेनिक सेलिङ’ सकिएको साथै असोजमसान्तको ब्याज र किस्ताको समस्या पनि टरिसकेकोले पनि बजार अब धेरै नघट्ने आँकलन गर्न सकिन्छ ।
अहिले नेप्से परिसूचक ११ सय बिन्दु हुँदाको भन्दा केहि कम्पनीको अझ न्यून मूल्य आइसकेको छ भने नयाँ कम्पनीहरूको आगमनले गर्दा नेप्से परिसूचक १८ सय बिन्दुको आसपास देखिएको मात्रै हो । ठूला लगानीकर्ताहरू थोरै थोरै रुपमा क्रमैसँग खरिद गरिरहेको देखिन्छ भने साना नवप्रवेशी लगानीकर्ताहरू आत्तिएर बेचिरहेका छन् । मध्यम लेभलका लगानीकर्ताहरू ‘पर्ख र हेर’ को अवस्थामा छन् ।
टेक्निकल चार्ट हेरेर लगानी गर्ने ट्रेडरहरू तल्लो बिन्दु र माथिल्लो बिन्दुको निश्चित प्वाइन्टको पर्खाइमा छन् । १९१० कटेमा उनीहरूको व्यापक इन्ट्री हुन्छ भने हालको अवस्थामा यथास्थितिमै छन् । लगानीका अन्य क्षेत्रहरू सहज नभएकाले पनि अबका भावी दिनमा लगानीको एकमात्र सहज र उपयुक्त क्षेत्र पुँजी बजार नै हुन्छ भन्ने कुरामा पुँजी बजारका लागनीकर्ताहरूको दुई मत छैन ।