ब्रोकर नं. ५८ ले सुरु गर्यो नेपालमै पहिलोपटक मार्जिन ट्रेडिङ कारोबार सुविधा

काठमाडौं । नासा सेक्युरिटिज कम्पनी (स्टक ब्रोकर नं. ५८)ले मार्जिन कारोबार सुविधा सुरु गरेको छ । कम्पनीले नेपालमै पहिलोपटक लगानीकर्तालाई सेयर ब्रोकरबाटै कर्जा लिएर सेयर खरिद गर्नसक्ने मार्जिन ट्रेडिङ कारोबार सुविधा सेवा सुरु गरेको हो ।

नेपाल स्टक एक्सचेन्जले २०७५ सालमा मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ जारी गरेपछि लगानीकर्तालाई औपचारिक रुपमा यस्तो सुविधा प्रदान गर्ने नासा सेक्युरिटिज पहिलो ब्रोकर कम्पनी हो।

नासा सेक्युरिटिजले नियमनकारी निकायहरुको मार्गनिर्देशन र मार्जिन कारोबार सुविधासम्बन्धी कार्यविधि, २०७५ बमोजिम लगानीकर्ताका लागि २ प्रकारका योजनाहरु ल्याएको छ।

पहिलो योजनाअन्तर्गत १० लाखसम्मको पोर्टफोलियोमा काम गर्ने ग्राहकले ४० प्रतिशतमात्र नगद मार्जिन राखी कारोबार सुरु गर्न सक्नेछन्। सो योजना ३० दिने अवधिका लागि उपलब्ध गराइनेछ र यसमा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क ९ हजार ९९९ मात्र लाग्नेछ।

दोस्रो योजना १० लाखसम्मको पोर्टफोलियोमा ५८ दिने अवधिका लागि हुनेछ र यसमा सेवा शुल्क र ब्याजसहित जम्मा शुल्क २१ हजार ५८ मात्र लाग्नेछ।

यी सुबिधा उपभोग गर्न चाहने ग्राहकले नेप्सेबाट जारी मार्जिन कारोबार गर्न योग्य कम्पनीको सूचीभित्र रही कारोबार गर्नुपर्नेछ। कम्पनीले दुवै योजना ग्राहकले आवेदन दिएको ५८ मिनेटभित्रमा स्वीकृत गर्नेछ।

कम्पनीमा मार्जिन कारोवार सुविधा लिई कारोबार गर्नका लागि कम्पनीको वेबसाइट http://www.naasasecurities.com.np/ मा गई आवेदन दिन सक्ने कम्पनीले जनाएको छ।

प्रतिक्रिया

हेडलाइन्स