काठमाडौं । इस्टर्न हाइड्रोपावर लिमिटेडको आईपीओमा आवेदन दिने म्याद थप गरिएको छ।
कम्पनीको आईपीओमा आवेदन दिने अन्तिम दिन आज कात्तिक १ गते भनिएको थियो। तर, आज सरकारले शताब्दी पुरुष सत्यमोहन जोशीको निधनको शोकमा सार्वजनिक बिदा दिएकोले यो आईपीओमा आवेदन दिने म्याद कात्तिक २ गतेसम्म थप गरिएको धितोपत्र बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ।
कम्पनीले असोज २८ गतेदेखि स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा बिक्री नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर निष्काशन गरेको हो ।
जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।