काठमाडौं । इष्टर्न हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओमा पहिलो दिनमै साढे २.५३ गुणा बढी आवेदन परेको छ ।
आज दिउँसोसम्म उक्त आईपीओमा १ लाख ३५ हजार ४२९ आवेदकबाट कुल १५ लाख ८० हजार ४१० कित्ता सेयर खरिद आवेदन परेको सीडीएससीले जनाएको।
जुन मागभन्दा २.५३ गुणा बढी हो।
कम्पनीले आजदेखि स्थानीय बासिन्दालाई बिक्री खुला गर्दा बिक्री नभएको ५० हजार ३ सय १० कित्ता समेत जोडेर सर्वसाधारणलाई ६ लाख ७० हजार ३ सय १० कित्ता सेयर निष्काशन गरेको हो ।
जस मध्ये ३३ हजार ५ सय १५ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने १३ हजार ४ सय ६ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ । बाँकी रहेको ६ लाख २३ हजार ३ सय ८९ कित्ता सेयरको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
लगानीकर्ताले कार्तिक १ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १ लाख कित्ताको लागि दिन सकिने छ । सेयर निष्काशनको लागि एनएमबि क्यापिटल बिक्री प्रबन्धक रहेको छ ।
कम्पनीले भोजपुर जिल्लामा ५ मेगावाटको पिखुवा खोला जलविद्युत् आयोजना निर्माण सम्पन्न गरि विद्युत उत्पादन गरिरहेको छ । त्यस्तै भोजपुर मै १४.१ मेगावटको इर्खुवा जलविद्युत आयोजनाको सर्भे गरिरहेको छ ।