काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले कारोबार व्यवस्थापन प्रणाली (टीएमएस)का लागि आवश्यक पूर्वाधारलगायत अन्य आवश्यक व्यवस्था गर्नका लागि ३३ वटा ब्रोकरलाई पत्राचार गरेको छ ।
नेप्सेले काटेको पत्रमा धितोपत्र कारोबार सञ्चालन (तेस्रो संशोधन) विनियामवाली, २०७९ बमोजिम कारोबार व्यवस्थापन प्रणाली स्थापनाका लागि पूर्वाधारलगायत अन्य आवश्यक व्यवस्था गरी ३० दिनभित्र नेप्सेमा जानकारी गराउन उल्लेख गरिएको छ ।
नेप्सेमा हाल सञ्चालनमा रहेका ५० ब्रोकर कम्पनीमध्य ३४ ब्रोकर कम्पनीले आफ्नै टीएमएस राख्न भन्दै निवेदन दिएका छन् । निवेदन दिएका ३४ कम्पनी मध्ये ३३ कम्पनीले श्रीलंकाको कम्पनीबाट टीएमएस ल्याउने भन्दै निवेदन दिएका थिए । अहिले सञ्चालनमा भएका ५० ब्रोकरमध्ये ३३ वटा ब्रोकरले स्थानीय प्रतिनिधि ‘डिजीहब’मार्फत टीएमएस ल्याउने प्रक्रिया अघि बढाएका छन् ।
ब्रोकरहरूले हाल कोलम्बो स्टक एक्सचेन्जका ब्रोकरहरूले चलाइरहेको आइरन वान टेक्नोलोजी प्रालिले बनाएको ‘एट्राड’ नामक टीएमएस ल्याउन खोजेका छन् ।
नयाँ टीएमएस राख्ने ब्रोकर कम्पनीले निवेदन सँगै कुन कम्पनीको टीएमएस ल्याउने र को मार्फत ल्याउने भन्ने जानकारी निवेदनसँगै दिनु पर्ने नियम राखिएको थियो । सोहीअनुरुप नै ब्रोकर कम्पनीहरूले उक्त जानकारी निवेदन सँगै दिएका हुन् ।
३३ कम्पनीले श्रीलंका स्थित आइरन वान कम्पनीले उत्पादन गरेको टीएमएस ल्याउने अनुमति माग गरेका छन् । आइरन वान श्रीलंकाको स्टक बजारसँग सम्बन्धित सफ्टवेयर उत्पादन गर्ने कम्पनी हो। जसको मुख्य कार्यालय कोलम्बोमा अवस्थित छ ।
आइरन वान कार्यालयहरू अन्तर्राष्ट्रिय स्तरमा समेत विस्तार भएका छन् । कम्पनीले उत्पादन गरेका टीएमएस श्रीलंका स्थित ब्रोकर कम्पनीहरूले चलाउँदै आएका छन् ।
नेप्सेको सञ्चालक समितिले सेयर कारोबार विनियमावली, २०७५ स्वीकृत गरी २०७९ असार ५ गतेबाट कार्यविधि बनाएर लागू गरेको थियो। सोही कार्यविधिअनुरुप नै अहिले सञ्चालनमा रहेका ब्रोकरहरुले आफ्नै टीएमएस सञ्चालनमा ल्याउन आवश्यक प्रक्रिया अघि बढाएका थिए।
विनियमावलीमा भएको व्यवस्थाअनुरुप नै ब्रोकरहरूले स्थानीय प्रतिनिधि छनोट गरी नेप्सेमा आफ्नै टीएमएस सञ्चालनका लागि गत साउनमै आवेदन दिएका थिए।