काठमाडौं । खप्तड लघुवित्त वित्तीय संस्थाको आईपीओमा ७९.४५ गुणा बढी आवेदन परेको छ ।
बिहीबार ५ः१० बजेसम्ममा ८ लाख ७१ हजार २५५ जना आवेदक बाट ९८ करोड ४ लाख ३० हजार रुपैयाँ बराबरको ९८ लाख ४ हजार ३०० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।
जुन सर्वसाधारणलाई छुट्टाएको १ लाख २३ हजार ४०० कित्ता सेयरको ७९.४५ गुणा बढी हो ।
लघुवित्तले भदौ ८ गतेदेखि आईपीओ निष्काशन तथा बिक्री खुला गरेको हो । लघुवित्तले जारी पुँँजी, ४ करोड रुपैयाँको ३३ प्रतिशत आईपीओ निष्काशन गरेको हो ।
यस अनुसार लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका १ करोड ३२ लाख रुपैयाँ बराबरको १ लाख ३२ हजार कित्ता आईपीओ जारी गर्न लागेको हो । लघुवित्तले निष्काशन गर्न लागेको कुल सेयरमध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात २ हजार कर्मचारीहरूका लागि र सर्वसाधारणका लागि छुट्याइएको सेयरमध्ये ५ प्रतिशत अर्थात ६ हजार ६०० कित्ता सेयर सामूहिक लगानी कोषहरूलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी १ लाख २३ हजार ४०० कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा माग भन्दा बढी आवेदन परेकोले भदौ १२ गतेसम्म मात्र आवेदन दिन सकिने छ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार ३२० कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पुँजी २ करोड ६८ लाख रुपैयाँ छ । आईपीओ बाँडफाँट पश्चात लघुवित्तको चुक्ता पुँँजी ४ करोड रुपैयाँ पुग्नेछ ।