काठमाडौं । पिपुल्स पावरको आईपीओमा पहिलो दिनमै १.४७ गुणा बढी आवेदन परेको छ ।
मंगलबार साँझ ५ः१० बजेसम्ममा २ लाख ८६ हजार ४९४ आवेदनबाट ३३ करोड ७९ लाख ५८ हजार रुपैयाँ बराबरको ३३ लाख ७९ हजार ५८० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिङले जनाएको हो ।
जुन सर्वसाधारणलाई छुट्टाएको २२ लाख ९४ हजार ६८२ कित्ता सेयरको १.४७ गुणा बढी हो ।
कम्पनीले सर्वसाधारणहरुका लागि २४ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन गरेको हो ।
जस मध्ये ४९ हजार ३ सय ४८ कित्ता कर्मचारीको लागि छुट्याईएको छ भने १ लाख २३ हजार ३ सय ७० कित्ता सेयर सामुहिक लगानी कोषको लागि छुट्याईएको छ । बाँकी रहेको २२ लाख ९४ हजार ६ सय ८२ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
कम्पनीको आईपीओमा माग भन्दा बढी आवेदन परेकोले लगानीकर्ताले भदौ ५ गतेसम्म आवेदन दिन सक्ने छन् । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम ५० हजार कित्ताको लागि दिन सकिने छ । कम्पनीको सेयर निष्काशनको लागि प्रभु क्यापिटल बिक्री प्रबन्धकको रुपमा रहेको छ ।
कम्पनीको आईपीओमा लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् । साथै, मेरो सेयर एपबाट पनि आवेदन दिन सकिनेछ ।
कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीयलाई निष्काशन गरेको आईपीओ बाँडफाँट गरिसकेको छ । पिपुल्स पावरले इलाम जिल्लाको इलाम नगरपालिकामा अवस्थित पुवाखोलामा ४.९६ मेगावाटको आयोजना निर्माण गरिरहेको छ ।