काठमाण्डौ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले अब मर्जर प्रयोजनका लागि कम्पनीहरुको सेयर कारोबार रोक्का बढीमा १५ दिनमात्रै हुने निर्देशिकाको मस्यौदा सार्वजनिक गरेको छ ।
आज बोर्डले संगठित संस्था एकआपसमा गाभ्ने गाभिने तथा प्राप्तिसम्बन्धी निर्देशिका, २०७९ (प्रारम्भिक मस्यौदा) जारी गर्दै यस्तो व्यवस्था गरेको हो।
अब एकीकृत कारोबार गर्ने मितिबाट गाभ्ने संस्था वा प्राप्त गर्ने संस्था र गाभ्ने संस्था वा लक्षित संस्थाको सेयर मिलान, धितोपत्र पुनः दर्ता, धितोपत्रको अभौतिकीकरण तथा सूचीकरणलगायतका कार्यका लागि बढीमा १५ कार्य दिन सेयर कारोबार रोक्का राख्नुपर्ने निर्देशिकाको मस्यौदामा उल्लेख गरिएको छ।
आधारभूत सेयरधनीहरुको सेयर कारोबार भने मर्जर सम्झौता लगत्तै रोक्का हुने मस्यौदामा उल्लेख छ ।
तर, संगठित संस्थाको नाम परिवर्तन नहुने भएमा प्राप्ति गर्ने संस्थाको सेयर कारोबार रोक्का राख्नुपर्ने नपर्ने व्यवस्था कार्यविधिमा गरिएको छ।
योसँगै अब संगठित संस्थाले गाभ्ने, गाभिने वा प्राप्ति कार्य प्रारम्भिक सम्झौता भएको ६ महिनाभित्र सम्पन्न गरिसक्नुपर्ने निर्देशिकामा उल्लेख छ।
मर्जरपछि कम्पनीको नाम परिवर्तन नभएमा प्राप्ति गर्ने कम्पनीको सेयर कारोबार रोक्का नहुने व्यवस्था बोर्डले गरेको छ ।
त्यस्तै, मर्जर तथा एक्विजिशनमा जाने संस्थाले प्रारम्भिक समझदारी नभएसम्म गाभ्ने गाभिने वा प्राप्ति सम्बन्धमा कुनै पनि सूचना चुहाउन नपाउने भएका छन् ।