काठमाडौं । धौलागिरी लघुवित्त वित्तीय संस्थाले भोलि (साउन २४ गते)देखि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ। लघुवित्तले जारी पूँजी १० करोड ३१ लाख रुपैयाँको ३२.१० प्रतिशत आईपीओ निष्काशन गर्न लागेको हो ।
लघुवित्तले प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्य भएका ३ करोड ३१ लाख रुपैयाँ बराबरको ३ लाख ३१ हजार कित्ता आईपीओ जारी गर्नेछ ।
लघुवित्तले निष्काशन गर्न लागेको कुल ३ लाख ३१ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात ५ हजार १५५ कित्ता कर्मचारीहरुका लागि र ५ प्रतिशत अर्थात १६ हजार ५५० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ३ लाख ८ हजार २९५ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
सो आईपीओमा छिटोमा साउन २९ गते र ढिलोमा भदौ ७ गतेसम्म आवेदन दिन सकिनेछ । लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओ निष्काशन तथा बिक्री प्रवन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ । इच्छुक आवेदकले सि–आस्वा सदस्य बैंक तथा वित्तीय संस्था र मेरोसेयर वेबसाइट तथा एप मार्फत आवेदन दिन सक्नेछन् ।
हाल लघुवित्तको चुक्ता पूँजी ७ करोड रुपैयाँ छ । आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी १० करोड ३१ लाख रुपैयाँ पुग्नेछ ।