काठमाडौं । गत आर्थिक वर्षको भदौ ३ गते ३२२७ विन्दु चुमेर ओरालो लागेको सेयर बजार गत असार १० गते १८०६.९५ विन्दु छोएर बजार फर्किएको छ । छोटो समयमा करिब ४४ प्रतिशत हाराहारीमा भएको करेक्सन नेपालको सेयर बजार छोटो समयको पहिलो घट्ना हो । असार १० गते तल्लो विन्दुबाट बढ्न सुरु गरेको सेयर बजार करिब १ महिनाभन्दा अलि ज्यादा समयमा २१९६.२५ विन्दुमा आज कारोबार बन्द भएको छ । निरन्तर ४ दिन बढेको सेयर बजार आज पनि ५ औं दिन पनि १.१५ अंकले बढेर बन्द भएको छ ।
अहिलेको कारोबारको ट्रेनलाई हेर्दाखेरी विगत मंसिर महिनामा २२६९.५२ अंकबाट बढ्न सुरु गरे जसैगरी अहिलेको कारोबार शैली देखिएको छ । निन्ततर रुपमा ४÷५ दिन बढेपछि १ दिन करेक्सन हुने शैली अहिले पनि दोहोरिन सक्ने देखिन्छ । विगत मंसिर पुसको ट्रेन र अहिलको कारोबार ट्रेनलाई हेर्दा लगभग उस्तै शैली देखिदै आएको छ ।
मौद्रिक नीतिको पर्खाइमा रहेका लगानीकर्ताहरू लगानीका अन्य क्षेत्रहरूलाई संकुचन गरी पुँजी बजारलाई यथावत राखि अझ लगानीमैत्री वातावरणका लागि नीतिगत पूर्वाधार तयार गरिएका हुँदा कारोबार प्रति उनीहरू विश्वस्त नै देखिन्छन् ।
घरजग्गा क्षेत्रमा गरिएको कडाइले गर्दा त्यता हुने लगानी पनि सेयर बजारमा भित्रिएको विभिन्न तथ्यांकहरूबाट देखिन थालेको छ भने व्यापार व्यवसाय क्षेत्रका व्यवसायीहरू राष्ट्र बैंकले केहि वस्तुमा लगाएको कोटा सिष्टम र विलासीताका वस्तुहरूको आयातमा लगाएको प्रतिवन्धले गर्दा ती क्षेत्रको लगानी पनि पुँजी बजारमै भित्रियो भन्ने सेयर बजारका जानकार र विश्लेषकहरूको भनाइ छ ।
जसले गर्दा पुँजीबजार केहि दिनदेखि निरन्तर उकालो यात्रामा छ । सेयर बजार बढ्दै गर्दा नयाँ लगानीकर्ता भित्र्ने र पुराना लगानीकर्ताले पनि लगानी वृद्धि गर्दै जानुका साथै विदेशमा रोजगारीमा गएका नेपाली नागरिकहरूले पनि पुँजी बजारमा लगानी बढाउने हुँदा वैधानिक बैंकिङ प्रणाली रेमिट्यान्स भित्र्दा डलर सञ्चिति वृद्धि हुँदै जाने र रेमिट्यान्सको ग्राफ पनि उकालो लाग्दै जाँदा पुँजी बजारमा सकारात्मक महोल छाएको छ ।
नजिकिदै गरेको चाडपर्वहरूमा रेमिट्यान्स वृद्धि हुँदै जाने विगतका तथ्यांकहरूले देखाएको छ भने कच्चा तेलको मूल्यमा भारी गिरावट आइ नेपालले आयात गर्ने पेट्रोलियम पदार्थमा पनि इण्डियन आयल कर्पोरेशनले नयाँ मूल्य सूचीमा पनि करिब १०/१२ प्रतिशतको मूल्य घटेर आएको मूल्यसूची भारतले पठाएको छ । जसले डलर सञ्चितिका लागि महत्वपूर्ण भुमिका खेल्दछ भने व्यापार घाटा कम गर्न र मूल्य वृद्धि रोक्नको महत्वपूर्ण भूमिका खेल्नेछ ।
यसको प्रत्यक्ष प्रभाव पुँजीबजारमा देखिन्छ । यसले गर्दा पुँजीबजारमा सकारात्मक माहोल सिर्जना भएको छ भने विगत फागनुदेखिबाट ब्याजदर वृद्धि नहुनु अर्थात करिब ६ महिना व्याजदर स्थिर रहनुले अवका दिनमा व्याजदर घट्न सक्ने संकेतको रुपमा पनि लिन सकिन्छ । जसले गर्दा पुँजी बजारलाई सकारात्मक माहोल सिर्जना गरेको छ ।
यी र यस्ता विविध घट्ना क्रमहरूले लगानीकर्ताहरूको मनोवल वृद्धि गरी पुँजी बजार पुनः लयमा फर्किएको देखिदै आएको छ । कम्पनीका चौथो त्रैमासिक रिपोर्टहरू पनि सकारात्मक आएका छन् । यी रिपोर्टहरूको आधारमा निकट समयमानै कम्पनीहरूले दिने प्रतिफलको आकलन गर्न सकिन्छ भने लागनीको छोटो अवधिमै लगानीकर्ताहरूले राम्रो लाभांश पाउने अनुमानले पनि लागनीकर्ताहरूले लगानीको विस्तार गरिरहेको पाइन्छ । जसले गर्दा छोटो समयमै करिब ४४ प्रतिशतले घटेको बजार पुनः लयमा फर्कदै गएको छ ।