काठमाडौं । यो साता सेयर बजारमा मौद्रिक नीतिका साथै नेपाल धितोपत्र बोर्डले ल्याएको नयाँ नीति तथा कार्यक्रमको प्रभाव देखिएको छ । मौद्रिक नीति र सेबोनले ल्याएका केही नीतिगत व्यवस्थाको प्रभाव सेयर बजारमा देखिएको हो । यो साता नेप्से परिसूचकका सबै महत्वपूर्ण उपसमूहरू सकारात्मक बनेका छन् ।
गत साताको तुलनामा यो साता सबै सूचकहरू बढेका हुन् । गत साता २०१७. ४६ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २१४०.५२ विन्दुमा पुगेर बन्द भएको छ । साताको कारोबारमा नेप्से परिसूचक १२३.०६ अंकले बढेको हो ।
यो साता ६ कारोबार दिनमा नेप्से परिसूचक एक कारोबार दिनमात्र घटेको छ । साताको पहिलो कारोबार दिन ६.०५ अंकले र दोस्रो दिन ५४.४५ अंकले बढेको बजार तेस्रो दिन भने ४४.८० अंकले घटेको थियो । त्यस पछिका तीन कारोबार दिन भने नेप्से परिसूचक निरन्तर बढेको छ । साताको चौथो कारोबार दिन २३.८३ अंक, पाँचौ दिन १५.४९ अंक र छैठौ दिन १३.०५ अंक नेप्से परिसूचक बढेको हो ।
गत साता ९ अर्ब ६६ करोड २६ लाख ८० हजार रूपैयाँ बराबरको २ करोड ३२ लाख ६४ हजार १५५ कित्ता धितोपत्र खरिदबिक्री भएकोमा यो साता २० अर्ब ८७ करोड २० लाख ३८ हजार रूपैयाँ बराबरको ४ करोड ९६ लाख ८१ हजार ७१९ कित्ता धितोपत्र खरिदबिक्री भएको छ । गत साताको तुलनामा यो साता ११ अर्ब २० करोड ९३ लाख ५७ हजार रूपैयाँ बराबरको २ करोड ६४ लाख १७ हजार ५६४ कित्ता बढी धितोपत्र खरिदबिक्री भएको हो ।
यो साता कुल बजार पुँजीकरण १ खर्ब ७५ अर्ब ७२ करोड ३९ लाखले बढेको छ । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ८० अर्ब ८१ करोड २० लाख रहेको कुल बजार पुँजीकरण यो साताको अन्तिम कारोबार दिन ३० खर्ब ५६ अर्ब ५३ करोड ५९ लाख कायम भएको छ ।
यो साताको कारोबारमा लगानीकर्ता उत्साहित हुनुको पछि नेपाल राष्ट्र बैंकको मौद्रिक नीतिमा आएका नयाँ व्यवस्था र साउन १२ गते नेपाल धितोपत्र बोर्डले जारी गरेको नीति तथा कार्यक्रमलाई पनि लिन सकिन्छ ।
यस वर्षको नयाँ नीतिहरू आगामी दिनमा बजारका लागि सकारात्मक प्रभाव पार्ने खालका भएकाले पनि लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ । सेयर कारोबार रोक्काको व्यवस्था खारेज गरी नेपाल धितोपत्र बोर्डलाई जिम्मेवारी दिनु र सेयर धितोकर्जाको अधिकतम सीमा १२ करोडनै कायम राखे पनि एक संस्थाबाट लिन सक्ने व्यवस्थाका कारण लगानीकर्ताहरू उत्साहित भएको देखिन्छ ।
सर्वाधिक कमाउनेमा वित्त समूहका लगानीकर्ता
करीब २ खर्ब रूपैयाँले लगानीकर्ताको सम्पत्ति मूल्य बढेको यो साता वित्त समूहका लगानीकर्ताहरूले सर्वाधिक कमाएको देखिन्छ । कारोबारमा आएका १३ समूहगत उपसूचकहरूमध्ये वित्त समूहको उपसूचक सर्वाधिक २१.९६ प्रतिशतले बढेको छ । सर्वाधिक कमाउने दोस्रो नम्बरमा भने विकास बैंक समूह रहेको छ । यस समूहको उपसूचक १७.२७ प्रतिशतले बढेको छ ।
यो साता कारोबारमा आएका सबै समूहगत उपसूचकहरू बढेका छन् । वित्त र विकास बैंकसँगै जलविद्युतको १०.५८ प्रतिशत, होटल तथा पर्यटन समूहको १०.३० प्रतिशत, लघुवित्तको १०.०२ प्रतिशत, लगानी समूहको ८.०८ प्रतिशत, अन्य समूहको ७.९९ प्रतिशतले बढेको छ ।
व्यापारिक समूहको ४.८२ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको ४.०१ प्रतिशत, जीवन बीमा समूहको ३.२७ प्रतिशत, निर्जीवन बीमा समूहको २.१० प्रतिशत, बैंकिङ समूहको १.८३ प्रतिशत र म्युुचुअल फण्ड समूहको ०.४८ प्रतिशत उपसूचक बढेको छ ।