काठमाडौं । राप्ती हाइड्रो एण्ड जनरल कन्स्ट्रक्सन लिमिटेडको आईपीओ साउन ९ गते (सोमबार) बाँडफाँट हुने भएको छ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटलकै कार्यालयमा बाँडफाँट हुन लागेको हो ।
कम्पनीको आर्इपीओमा कुल १५ लाख ३८ हजार ६८८ जनाले १ करोड ७२ लाख ६५ हजार १५० कित्ताका लागि आवेदन दिएका छन् । कुल १ अर्ब ७२ करोड ६५ लाख १५ हजार रुपैयाँ बरारको आवेदन परेको छ ।
कम्पनीको सेयरमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्काशन तथा बाँडफाँट निर्देशिका अनुसार न्युनतम १० कित्ताको दरले सेयर वितरण हुनेछ । जसअनुसार २ लाख १७ हजार ६९४ जनाले मात्रै सेयर पाउनेछन् ।
कम्पनीले असार २९ गतेदेखि सर्वसाधारणलाई २३ लाख ६६ हजार २ सय ४० कित्ता आईपीओ निष्काशन गरेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरुका लागि निष्काशन गरेको सेयरमा बाँकी रहेको ३७ हजार ६२३ कित्तासहित २३ लाख ६६ हजार २४० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
सर्वसाधारणलाई निष्काशन गरिने कुल सेयरमध्ये ५ प्रतिशत अर्थात् १ लाख १८ हजार ३ सय १२ कित्ता सामुहिक लगानी कोषहरुको लागि छुट्याईएको छ भने ३ प्रतिशत अर्थात् ७० हजार ९ सय ८८ कित्ता सेयर कम्पनीका कर्मचारीको लागि छुट्याईएको छ ।