काठमाडौं । साउन ४ गतेसम्म ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ को इकाई खरिद गर्न सकिने भएको छ । ग्लोबल आइएमई क्यापिटल लिमिटेडले असार २२ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको ग्लोबल आइएमई ब्यालेन्स्ड फण्ड १ इकाईमा आवेदन दिने म्याद थप गरेको छ । सो योजनाको इकाईका लागि अब साउन ४ गतेसम्म आवेदन दिन सकिने भएको छ ।
क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब २० करोड रुपैयाँ बराबरको १२ करोड इकाई बिक्रीमा ल्याएको हो । निष्काशन गरिएको कुल इकाईमध्ये कुल बिक्री भएको इकाई संख्याको १५ प्रतिशतमध्ये १.५० प्रतिशत वा १८ लाख इकाई ग्लोलब आइएमई क्यापिटललाई र बाँकी १३.५० प्रतिशत अर्थात १ करोड ६२ लाख इकाई कोष प्रवद्र्धक ग्लोबल आइएमई बैंकलाई सुरक्षित गरेको छ ।
बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधरणलाई बिक्रीमा ल्याएको हो । उक्त फण्डमा न्यूनतम १०० देखि १ करोड २० लाख इकाईसम्म आवेदन दिन पाउने व्यवस्था गरेको छ । ग्लोबल आइएमई क्यापिटल ग्लोबल आइएमई बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो ।
ग्लोबल आइएमई म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने १० वर्ष अवधिको सो फण्डको इकाईमा लगानीकर्ताले आवेदन दिन सक्ने छन् । धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयर वेव तथा एपबाट पनि आवेदन दिन सक्नेछन् । यो एक बन्दमुखी योजना हो ।