काठमाडौं । यो साता धितोपत्र परिसूचक नेप्से गत साताको तुलनामा ३६ दशमलव १५ अंकले घटेको छ । गत साता २०२८.७७ विन्दुमा पुगेको नेप्से परिसूचक यो साता १९९२.६२ विन्दुमा झरेको हो । साताको ६ कारोबार दिनमा नेप्से परिसूचक चार कारोबार दिन घटेको छ भने दुई कारोबार दिन मात्र बढेको छ ।
साताको पहिलो कारोबार दिन ५७.६५ अंकले बढेको नेप्से दोस्रो दिन ९.७५ अंकले र तेस्रो दिन ४६.८ अंकले घटेको थियो । चौथो दिन १३.३३ अंकले बढेको नेप्से पाँचौ दिन १६.६० अंक र छैठौं दिन ३४. ७० अंकले घटेको हो ।
दोस्रो बजारको कुल पुँजीकरण ५० अर्ब ५३ करोड १५ लाखले घटेको छ । गत साताको अन्तिम कारोबार दिन २८ खर्ब ९२ अर्ब ५१ करोड ६४ लाख रहेको कुल बजार पुँजीकरण यो साताको अन्तिम कारोबार दिन २८ खर्ब ४१ अर्ब ९८ करोड ४९ लाख कायम भएको छ ।
यो साता नेप्से परिसूचक र कुल बजार पूँजीकरण घटेपनि कारोबार रकम र कित्ता भने गत साताको भन्दा बढी छ । गत साता १० अर्ब ६४ करोड ८५ लाख ६९ हजारभन्दा बढीको ३ करोड ३ लाख ४६ हजार ५३९ कित्ता धितोपत्र कारोबार भएकोमा यो साता १४ अर्ब ९५ करोड १५ लाख ४४ हजार बराबरको ३ करोड ९८ लाख ६० हजार ५८३ कित्ता धितोपत्र खरीदविक्री भएको छ ।
पछिल्लो समय बजार विकास विस्तारका लागि नियामक निकायहरूले सक्रियता देखाएका छन् । चालु आर्थिक वर्ष सकिनै लाग्दा नियामक निकाय नेपाल धितोपत्र बोर्ड बजार सुधारका लागि आवश्यक काम गर्न सक्रिय बनेको छ ।
यसै सातादेखि नेप्सेको टिएमएस प्रणालीबाट खरीदतर्फको एओएन सुविधालाई हटाएको धितोपत्र बोर्डले देशव्यापी रुपमा धितोपत्रको पहुँच विस्तार गर्ने गरी नयाँ ब्रोकर लाईसेन्स वितरणको तयारी गरेको छ । धितोपत्र बोर्डले विद्यमान धितोपत्र व्यवसायी नियमावली, २०६४ मा संशोधन गर्ने मस्यौदालाई स्वीकृत गरी नयाँ ब्रोकर लाईसेन्स वितरणको तयारी गरेको हो ।
व्यापारिक समूहको उपसूचक ७ प्रतिशतले वृद्धि
यो साता कारोबारमा आएका १३ ओटा समूहगत उपसूचकहरूमध्ये व्यापारिक र जलविद्युत् समूहको मात्र उपसूचक बढेको छ । गत साताको तुलनामा यो साता व्यापारिक समूहको उपसूचक सर्वाधिक ७ प्रतिशत बढेको हो । जलविद्युत समूहको उपसूचक भने यो साता ०.९९ प्रतिशत बढेको हो ।
यो साता होटल तथा पर्यटन समूहको उपसूचक भने सर्वाधिक ५.२१ प्रतिशतले घटेको छ । त्यस्तै अन्य समूहको ३ प्र्रतिशत, विकास बैंक समूहको २.९७ प्रतिशत, लघुवित्तको २.८४ प्रतिशत, लगानीको २. ४५ प्रतिशत, निर्जीवन बीमाको २.०२ प्रतिशतले घटेको छ ।
बैंकिङको १.९५ प्रतिशत, उत्पादन तथा प्रशोधन समूहको १.६५ प्रतिशत, म्युचुअल फण्डको १.६४ प्रतिशत, वित्त समूहको ०.६४ प्रतिशत र जीवन बीमा समूहको ०.२९ प्रतिशतले उपसूचक घटेको छ ।