काठमाडौं । बुक बिल्डिङ विधिबाट आईपीओ निष्काशन गर्न लागेको सर्वोत्तम सिमेन्टको सेयरको ‘कट अफ’ मूल्य तोकिएको छ । सर्वोत्तम सिमेन्टको सेयरको कट अफ मूल्य प्रतिकित्ता ५०१ रुपैयाँ तोकिएको छ । योग्य संस्थागत लगानीकर्तालाई निष्काशित धितोपत्र पूर्ण रुपमा बिक्री हुदाँ कायम हुने मूल्य (कट अफ मूल्य) नै कट अफ मूल्य हो ।
कम्पनीले आज तोकेको आशय मूल्यको आधारमा सेयर बिक्री मूल्यसहित कम्पनीले धितोपत्र बोर्डमा निवेदन दिनेछ । बुक विल्डिङ विधिअनुसार कम्पनीले कट अफ प्राइसमा २० प्रतिशत थप गरेर आधार मूल्य तय गर्ने भएकाले सर्वोत्तमको सेयरको आधार मूल्य प्रतिकित्ता ६०१ रुपैयाँ २० पैसा हुनेछ । कम्पनीले उक्त आधार मूल्यमा पनि थप २० प्रतिशत जोडेर प्रतिकित्ता सेयर ७२१ रुपैयाँ सम्ममा बिक्री गर्न सक्नेछ ।
सर्वसाधारण लगानीकर्ताले भने कट अफ मूल्य भन्दा कममा नै सेयरमा आवेदन दिन पाउने छन् । सर्वसाधारण लगानीकर्तालाई कट अफ मूल्यमा १० प्रतिशत छुट दिई धितोपत्र निष्काशन गर्नुपर्ने व्यवस्था छ ।
नेपाल स्टक एक्सचेन्जमा सर्वोत्तम सिमेन्टले आशय मूल्यको बिड खोलेको थियो । सर्वोत्तमको सेयरका लागि ६५ ओटा संस्थागत लगानीकर्ताले बिड गरेका थिए । कम्पनीले संस्थागत लगानीकर्ताको लागि २४ लाख कित्ता सेयर छुट्याएको छ ।
कम्पनीले ६० लाख कित्ता आईपिओ निष्काशन गर्ने तयारी गरेको छ । सोमध्य बुक विल्डिङको नियम अनुसार ४० प्रतिशत अर्थात् २४ लाख कित्ता योग्य संस्थागत लगानीकर्ताका लागि छुट्याइएको छ । बाँकी रहेको ३६ लाख कित्तामध्ये ८ लाख कित्ता स्थानीयबासीलाई, ३ लाख कित्ता कर्मचारीलाई र २५ लाख कित्ता सर्वसाधारणका लागि जारी खुला हुनेछ ।
सर्वोत्तम सिमेन्टको आईपिओको लागि असार २० गतेदेखि योग्य संस्थागत लगानीकर्ताले आशयपत्र पेश गर्न खुला गरेको थियो ।