काठमाडौं । हिमालयन हाइड्रोपावर लिमिटेडले निष्कासन गरेको आईपीओ सोमबार बाँडफाँड हुने भएको छ । आज आइपीओको प्रि-अलटमेन्ट सम्पन्न गरेर आगामी सोमबार आइपीओ बाँडफाँड गरिने बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडले जनाएको छ ।
कम्पनीको आईपीओमा १६ लाख ३२ हजार ८ सय २ जना लगानीकर्ताहरूले १ अर्ब ८४ करोड ८८ लाख ४५ हजार रूपैयाँ बराबरको १ करोड ८४ लाख ८८ हजार ४ सय ५० कित्ताका लागि आवेदन दिएका छन् । यो सर्वसाधारणलाई छुट्याएको १८ लाख ३० हजार ४७२ कित्ताको १०.०६ गुणा बढी हो ।
माग भन्दा धेरैको आवेदन परेको हुँदा कम्पनीको आईपीओ लक्की ड्र मार्फत बाँडफाँड हुनेछ । कम्पनीका अनुसार १ लाख ८३ हजार ४७ जनाले मात्र सेयर हात पार्नेछन् । बाँकी १४ लाख ४९ हजार ७५४ जनाको भने हात खाली हुनेछ ।
कम्पनीले असार १५ गतेदेखि प्रतिसेयर १०० अंकित दरमा कुल १९ लाख ६८ हजार २५० कित्ता साधारण सेयर निष्काशनमा ल्याएको थियो । त्यसमध्ये २ प्रतिशत अर्थात ३९ हजार ३६५ कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ९८ हजार ४१३ कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । बाँकी रहेको १८ लाख ३० हजार ४७२ कित्ता सेयर मात्रै सर्वसाधारणलाई बाँटफाँड हुनेछ ।