काठमाडौं । अपर हेवाखोला हाइड्रोपावर कम्पनी लिमिटेडले आईपीओ निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले सर्वसाधारणका लागि आज (असार २४) गतेदेखि आईपीओ निष्कासन तथा बिक्री खुला गरेको हो ।
कम्पनीले प्रतिसेयर १०० अंकित मूल्यका १५ लाख कित्ता साधारण सेयर निष्काशन गरेको हो । निष्काशन गरिने कुल सेयरमध्ये २ प्रतिशत अर्थात ३० हजार कित्ता सेयर कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात ७५ हजार कित्ता सेयर सामूहिक लगानी कोषमा बाँडफाँड गरिएको छ । सर्वसाधारणले बाँकी १३ लाख ९५ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
आईपीओमा छिटोमा असार २८ गते र ढिलोमा साउन ६ गते बन्द हुनेछ । आईपीओमा आवेदन दिंदा न्युनतम १० कित्ता अधिकतम १ लाख कित्ताको लागि आवेदन दिन सकिने छ । सेयर निष्काशनको लागि एनएमबि क्यापिटल लिमिटेड बिक्री प्रबन्धकको रुपमा रहेको छ।
कम्पनीले प्रदेश नं. १ अन्तर्गत संखुवासभाको पाँचखपन र चैनपुर नगरपालिका भएर बहने हेवाखोलामा ८.५ मेगावाट क्षमताको जलविद्युत आयोजना निर्माण गरि रहेको छ।