अब हरेक वर्ष ब्रोकर लाइसेन्स खुल्ने, सेवाको आधारमा ६० करोड रुपैयाँसम्म चुक्ता पुँजी हुनुपर्ने

काठमाडौं । ब्रोकर लाइसेन्स अव हरेक वर्ष खुल्ने भएको छ । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले अव हरेक वर्ष नयाँ ब्रोकर कम्पनीहरुलाई लाइसेन्स दिने गरी बाटो खुला गरेको हो । मंगलबार बसेको बोर्ड सञ्चालक समितिको बैठकले धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४ मा संशोधन गर्दै नयाँ ब्रोकरलाई लाइसेन्स दिने बाटो खुला गरेको बताइएको छ ।

सेबोनले कोटा प्रणाली खारेज गरेर अव हरेक वर्ष ब्रोकर लाइसेन्स खुलाउने निर्णय गरेको छ । प्रस्तावित नियमावली अनुसार सीमित कार्य गर्ने धितोपत्र दलाल सेवाका लागि बोर्डले न्यूनतम २० करोड र अधिकतम ६० करोड रुपैयाँ चुक्ता पुँजी निर्धारण गरेको छ ।

पूर्ण कार्य धितोपत्र सेवा सञ्चालन गर्ने ब्रोकरहरूले भने खरिद बिक्रीसहित मार्जिन कारोबार, लगानी परामर्श, लगानी व्यवस्थापन र निक्षेप सदस्यसम्बन्धी कार्य गर्ने सविधा पनि हुनेछ । यस प्रकारको ब्रोकर कम्पनीको चुक्ता पुँजी बोर्डले ६० करोड रुपैयाँ हुनुपर्ने प्रस्ताव गरेको हो ।

बोर्डले ब्रोकर लाइसेन्स तीन प्रकारको हुने व्यवस्था गरेको छ । यसमा सीमित कार्य गर्ने धितोपत्र दलाल सेवा, पूर्ण कार्य गर्ने धितोपत्र दलाल सेवा र धितोपत्र व्यापारी छन् । यसअघिको व्यवस्था अनुसार सेयर ब्रोकर कम्पनीका लागि कायम हुनुपर्ने न्यूनतम चुक्ता पुँजीको सीमा २ करोड रुपैयाँ तोकिएको थियो ।

धितोपत्र व्यापरिक लाइसेन्सका लागि १ अर्ब ५० करोड रुपैयाँ पुँजी प्रस्ताव गरिएको छ । धितोपत्र व्यापारीले धितोपत्र दलालको कामसहित आफ्नो नामबाट सेयर किनबेच पनि गर्न पाउनेछन् । स्टक डिलरका रुपमा स्थापना हुने कम्पनीले धितोपत्र प्रत्याभूति कार्यका साथै योग्य संस्थागत लगानीकर्ताका रुपमा पनि काम गर्न सक्ने व्यवस्था गरिएको नियमावलीमा उल्लेख गरेको छ ।

हाल नागरिक लगानी कोषले मात्र यस्तो लाइसेन्स पाएको छ । अव ब्रोकर कम्पनीले पनि चाहेमा यस्तो प्रक्रियाको काम गर्न पाउने छन् । प्रस्तावित व्यवस्थाअनुसार थप कम्पनीले पनि डिलरको लाइसेन्स पाउने छन् । ब्रोकरहरुले सम्बन्धित ग्राहकको नामबाट मात्र ग्राहकको आदेशअनुसार धितोपत्र खरिद वा बिक्री गर्नेछन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स