काठमाडौं । रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडको आईपीओ आजबाट निष्काशन तथा बिक्री खुल्ला भएको छ । कम्पनीले आयोजना प्रभावित स्थानीय बासिन्दाहरुका लागि छुट्याइएको १० प्रतिशत अर्थात ६८ लाख ४२ हजार १०० कित्ता साधारण सेयर निष्काशन गरेको हो ।
उक्त आईपीओमा अति प्रभावित क्षेत्र गोसाइकुण्ड, वडा नं. १ थुमन र वडा नं. २ टिमेरे, प्रसारण लाइनबाट प्रभावित हुने आमाछोदिङमो गाउँपालिका वडा नं. ४ गोल्जुङ र वडा नं. ५ चिलिमेका साथै गोसाइ कुण्ड गाउँपालिकाका बाँकी वडाहरु, वडा नं. ४ लाङटाङ, वडा नं. ५ स्याफ्रुबेशी र वडा नं. ६ धुन्चे तथा सामान्य प्रभावित बाँकी सम्पूर्ण जिल्लाका बासिन्दाहरुले आवेदन दिन सक्ने छन्।
निष्काशन बन्द छिटोमा असार २७ गते र ढिलोमा साउन १० गते हुनेछ।
आईपीओमा न्यूनतम १० कित्ता सेयरका लागि आवेदन दिन सकिने छ भने अधिकतममा ७०० कित्ता सेयरका लागि आवेदन दिन सकिने छ ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।
बोर्डले जेठ ३१ गते कम्पनीलाई आईपीओ निष्काशनका लागि अनुमति प्रदान गरेको हो ।
कम्पनीले १११ मेगावाटको रसुवागढी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।