आदर्श लघुवित्तको आइपीओ भोलि बाँडफाँड हुने, ५ जनालाई ११ कित्ता सेयर, १८ लाख बढीको हात खाली

काठमाडौं । आदर्श लघुवित्त वित्तिय संस्था लिमिटेडको आइपीओ भोलि (असार १३) गते बाँडफाँड हुने भएको छ । कम्पनीको बिक्री प्रबन्धक बिओके क्यापिटलले सोमबार बिहान ९ बजे क्यापिटल कै कार्यालयमा आईपीओ बाँडफाँड गर्न लागेको हो ।

आईपीओमा आवेदन दिनेअन्तिम दिनसम्म १८ लाख ७ हजार १ सय २४ जना लगानीकर्ताहरूले २ करोड २ लाख ५० हजार ९ सय ८० कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा ३२३.४२ गुणा बढी हो ।

मागभन्दा बढी आवेदन परेकोले कम्पनीको आईपीओ गोलाप्रथाद्वारा बाँडफाँड हुनेछ । गोलाप्रथाद्वारा वितरण गर्दा भाग्यमानी ६ हजार २ सय ६१ जना लगानीकर्ताले मात्रै सेयर हात पार्नेछन् । जस मध्ये ५ जनाले ११ कित्ता सेयर पाउने छन् भने बाँकीले १० कित्ता सेयर पाउने छन्। यस हिसाबमा १८ लाख ८ सय ६२ जना लगानीकर्ताको भने हात खाली हुनेछ ।

संस्थाले असार १ गतेदेखि आईपीओ निष्काशन गरेको हो । लघुवित्तले ६७ लाख रुपैयाँ बराबरको ६७ हजार कित्ता आईपीओ जारी गरेको हो ।

लघुवित्तले निष्काशन गरेको कुल ६७ हजार कित्ता सेयरमध्ये ०.५ प्रतिशत अर्थात १ हजार ३५ कित्ता कर्मचारीहरूका लागि र ५ प्रतिशत अर्थात ३ हजार ३५० कित्ता सामूहिक लगानी कोषहरूका लागि सुरक्षित गरिएको छ । सर्वसाधारणले बाँकी ६२ हजार ६१५ कित्ता सेयरका लागि आवेदन दिएका छन्।

लगानीकर्ताले न्यूनतम १० कित्तादेखि १ हजार कित्तासम्मका लागि आवेदन दिने व्यवस्था थियो । हाल लघुवित्तको चुक्ता पूँजी १ करोड ४० लाख रुपैयाँ छ । आईपीओ बाँडफाँड पश्चात लघुवित्तको चुक्ता पूँजी २ करोड ७ लाख रुपैयाँ पुग्नेछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स