काठमाडौं । पिपुल्स पावर लिमिटेडले आज (असार ८ गते)देखि आईपीओ निष्काशन भएको छ । कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि आईपीओ निष्काशन गरेको हो ।
कम्पनीको पुँजी ६३ करोड २६ लाख रुपैयाँको १० प्रतिशतले हुन आउने प्रतिकित्ता १०० अंकित मूल्यका ६ लाख ३२ हजार ६०० कित्ता सेयर निष्काशन गरेको हो ।
सो मध्ये इलाम जिल्ला इलाम नगरपालिका वडा नं.१ र ४ अति प्रभावित क्षेत्रका बासिन्दाहरूका लागि १ लाख ८९ हजार ७८० कित्ता र सो बाहेकको इलाम जिल्लाका बासिन्दाहरुका लागि ४ लाख ४२ हजार ८२० कित्ता सेयर बाँडफाँड गरिनेछ ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा ५० हजार कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा असार २२ गते हुनेछ भने सो अवधिसम्म पूर्ण आवेदन नपरेमा आवेदन दिने म्याद साउन ४ गतेसम्म लम्बिनेछ।
कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ । लगानीकर्ताले नेपाल बंगलादेश बैंकको फिक्कल शाखा, प्रभु बैंकको सन्दुकपुर र इलाम शाखा, ग्लोबल आइएमई बैंकको फिक्कल र इलाम शाखा, प्राइम कमर्शियल बैंकको राँके, मंगलबारे, वितौले, तिन घरे र इलाम शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् । यसका साथै नेपाल धितोपत्र बोर्डबाट अनुमति लिइ आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट आवेदन दिन सक्नेछन् ।