काठमाडौं । नेपाल सरकारका विभिन्न नियामकहरू आफू र आफ्ना नजिकका व्यक्तिहरूका अनुकूल नीतिगत निर्णयहरू आउनु नेपाली परिवेशमा अनौठो होइन । किनकी राष्ट्र बैंक मातहतका कर्मचारीहरूले आफू अनुकूल नीतिगत निर्णयहरू ल्याउने गरेको पटक पटक देखिएको छ ।
अघिल्लो आर्थिक वर्षको मौद्रिक नीतिमा पनि यो विषयले निरन्तरता पाएको थियो । प्रत्यक्ष रुपमा पुँजी बजारलाई प्रभावित गर्ने मौद्रिक नीति नीति निर्माण तहका व्यक्तिहरू अनुकूल आफूले सेयर बेचिसकेपछि ४/१२ को नीतिगत निर्णय आउनु र पटक पटक बजारलाई प्रभावित पर्ने गरी संगठित कम्पनीहरूलाई खरिद बिक्री मै रोक लगाउनु न्यायोचित होइन ।
कोटा सिष्टम लागू गरिनु र बजारलाई अति प्रभावित गराएर तल्लो विन्दुमा आएपछि पुनः आफूले सेयर उठाइसकेपछि नीतिगत रुपमा परिमार्जन गरी सहजीकरण गरेर पुँजी बजारलाई बुलिस मनोविज्ञान र वियरिस मनोविज्ञान निर्माण गरी अर्थतन्त्रका सूचकांकहरूलाई नै प्रभावित गरेर निर्णय गर्ने परिपाटी कुनै नौलो होइन । यो विगत वर्षको मौद्रिक नीतिले पुष्टि गरेको छ ।
त्यसैगरी नेपाल धितोपत्र बोर्ड र त्यहाँका पदाधिकारीहरू पनि नीतिगत भष्ट्राचारमा लिप्त भएको पाइन्छ । विगत बुलिस समयमा पुँजी बजारमैत्री नीतिहरू छिटो छिटो बजारमा लागू गर्ने धितोपत्र बोर्ड अहिले आएर भने भइरहेका नीतिगत सुधारलाई पनि अवरोध गरी खरिद कारोबारमा प्रयोग हुने ‘एओएन’ लाई खरिदमा हटाएर लगातार बजारलाई उधो गतिमा लगि लगानीकर्ताको मनोबल खस्काएर सेयर बजार नै क्र्यास गराइ तमाम नयाँ र सर्वसाधारण अधिराज्य भरिका लगानीकर्तालाई मृत्युको मुखमा पुर्याएर धितोपत्र बोर्ड तमासा हेरेर बसेको छ ।
धितोपत्र बोर्डका जिम्मेवार व्यक्ति नै अझ बजार कसरी प्रभावित गर्न सकिन्छ र लगानीकर्तालाई कसरी पीडित बनाउन सकिन्छ भनि लागी परेको देखिन्छ । त्यसको पुष्टि हिजोमात्रै सार्वजनिक कार्यक्रममा धितोपत्र कामु अध्यक्ष नवराज अधिकारीको अभिव्यक्तिले पुष्टि गर्दछ । नाफा हुँदा केहि नबोल्ने, नाफा बुक नगर्ने अनि घाटा हुँदा नियामकले संरक्षण गर्न सक्दैन भन्दै गैर जिम्मेवार अभिव्यक्ति दिएका छन् ।
बजार बढेपछि जतिपनि घट्न सक्छ भन्दै दिएको अभिव्यक्ति गैर जिम्मेबार र पदिय दायित्वभन्दा बाहिर गएर दिएको अफवाह हो, जसले लगानीकर्तालाई मर्माहित बनाएको छ ।
पुँजी बजार र अर्थतन्त्रसँग सम्बन्धित नियमक निकायहरू गैर जिम्मेवार भई आफू अनुकूल नीतिगत निर्णयहरू गर्दा पुँजी बजार र समग्र अर्थतन्त्र नै धरासायी हुन पुगेको देखिन्छ ।
त्यसले गर्दा राजनीतिक नियुक्त भएकाहरूले आफ्नो पदिय दायित्व र मर्यादा बिर्सेर राजनीति स्वास्र्थमा लिप्त भई एकले अर्कालाई असफलताको ट्याग भिराउने कोशिसमा पुँजी बजार र अर्थतन्त्र प्रयोगशाला जस्तै भएको देखिन्छ भने समग्र अर्थतन्त्र नै स्वार्थ केन्द्रको शिकार भएको पाइन्छ ।