काठमाडौं । दोर्दी खोला जलविद्युत आयोजनाले आज जेठ २६ गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दाहरूलाई छुट्टाइएको सेयर बाँडफाँट गरी बिक्री हुन बाँकी रहेको २ लाख ९७ हजार ८४० कित्ता सहित प्रतिकित्ता १०० अंकित दरका २१ लाख ९५ हजार ५०९ कित्ता साधारण सेयर निष्काशन गर्न लागेको हो।
निष्काशन गरिएको कुल सेयरमध्ये ३ प्रतिशत अर्थात ६५ हजार ८६५ कित्ता सेयर कम्पनीका कर्मचारीहरुका लागि सुरक्षित गरिएको छ भने ५ प्रतिशत अर्थात १ लाख ९ हजार ७७५ कित्ता सेयर सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरिएको छ । सर्वसाधारण लगानीकर्ताले बाँकी २० लाख १९ हजार ८३९ कित्ता सेयरका लागि आवेदन दिन सक्नेछन् ।
लगानीकर्ताले न्यूनतम १० कित्ता सेयर खरिदका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १७ लाख कित्ता शेयरका लागि आवेदन दिन सक्नेछन् । निष्काशन बन्द छिटोमा जेठ ३१ गते हुनेछ भने सो अवधिसम्म आवेदन नपरेमा आवेदन दिने म्याद असार ९ गतेसम्म लम्बिनेछ । कम्पनीको सेयर निष्काशन तथा बिक्री प्रबन्धक सिद्धार्थ क्यापिटल रहेको छ ।