काठमाडौं । स्वेतगंगा हाइड्रोपावर एण्ड कन्स्ट्रक्सनले साधारण सेयर (आइपीओ) निष्काशन गर्न अनुमति पाएको छ । नेपाल धितोपत्र बोर्डले जेठ १० गते कम्पनीलाई आइपीओ जारी गर्न अनुमति दिएको हो ।
कम्पनीले बोर्डबाट स्वीकृति पाएसँगै ३९ करोड ८२ लाख ५० हजार रुपैयाँ बराबरको ३९ लाख ८२ हजार ५ सय कित्ता सेयर निष्काशन गर्ने छ ।आइपीओ निष्काशन पश्चात् कम्पनीको चुक्तापुँजी १.५१ अर्ब रुपैयाँ हुनेछ ।
कम्पनीले आइपीओ निष्काशन तथा बिक्री प्रबन्धकको रुपमा सानिमा क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा, सर्वसाधारण तथा कर्मचारीलाई यी सेयर जारी गर्ने छ ।
कम्पनीले रामेछाप जिल्लाको लिखु तामाकोशी गाउँपालिका र ओखलढुंगा जिल्लाको लिखु गाउँपालिकाको सिमाना भएर बग्ने लिखु नदीको बहाव सदुपयोग हुने गरी २८.१ मेगावट क्षमताको तल्लो लिखु जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।