काठमाडौं । हकप्रद सेयर हस्तान्तरण हुँदा आयकर छली भएको महालेखापरीक्षक कार्यालयले जानकारी दिएको छ ।
आयकर ऐन, २०५८ को दफा ९५ क. को उपदफा (२क)मा नेपाल धितोपत्र बोर्डमा सूचीकरण भएको निकायको हितको निःसर्गबाट प्राप्त लाभमा व्यक्तिको हकमा लाभ रकमको ५ प्रतिशत र निकायको हकमा २५ प्रतिशत कर लाग्ने व्यवस्था छ ।
धितोपत्रको कारोबार गर्ने निकायहरुको प्राप्त गर्ने हकप्रद सेयर निकायको नाममा स्वामित्व लिँदा २५ प्रतिशत र व्यक्तिको हकमा ५ प्रतिशत कर लाग्ने हुँदा कर रकम कम गर्ने उद्देश्यले निकायको सञ्चालक सदस्य वा सम्बद्ध व्यक्तिलाई निकायले मनोनयन गरी हक हस्तान्तरण गरेको देखिने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।
आयकर ऐन, २०५८ को दफा २७ (१) (क) मा कुनै एक व्यक्तिले अर्को व्यक्तिलाई सम्पत्ति हस्तान्तरण गरी गरेको भुक्तानीको हकमा हस्तान्तरित सम्पत्तिको बजार मूल्य बराबरको रकम प्रमाणीकरण गर्नुपर्ने व्यवस्था छ ।
आन्तरिक राजस्व विभाग मातहतका ३ कार्यालयले हकप्रद सेयर हक हस्तान्तरण गर्दा हुने लाभ प्रमाणीकरण गरी कर निर्धारण गरेको देखिँदैन ।
तसर्थ आयकर एने २०५८ बमोजिम प्रमाणीकरण गर्दा हुने लाभ निकायलाई ३२ करोड ३० लाख र प्राकृतिक व्यक्तिलाई समेत ५२ करोड ११ लाख ११ हजार रुपैयाँमा लाग्ने कर १० करोड ६८ लाख ६ हजार छानबिन गरी कर निर्धारण एवं असुल गर्नुपर्ने महालेखाको प्रतिवेदनमा उल्लेख छ ।