काठमाडौं । मानुषी लघुवित्त वित्तीय संस्थाको आईपीओ आज सोमबार बाँडफाँड भएको छ । लभुवित्तको आईपीओ गोलाप्रथाबाट बाँडफाँट गरिएको हो । उक्त कम्पनीको आईपीओमा आवेदन दिएका मध्ये ३६ हजार ८ सय ५६ जनाले १०÷१० कित्ता र ३ जनाले ११/११ कित्ता सेयर पाएका छन् ।
कम्पनीको आईपीओमा २३ लाख ६१ हजार ८ सय २७ जना आवेदन परेकोमा ७ हजार ४३ जनाको आवेदन रद्द भएको छ । २३ लाख ५४ हजार ७ सय ८४ जना सदर आवेदकलाई गोलाप्रथाबाट सेयर बाँडफाँड गरिएको बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्टले जानकारी दिएको छ ।
मानुषीले साउन २७ गतेदेखि ३१ गतेसम्म ३ लाख ९३ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन खुला गरेको हो । सोमध्ये ५ हजार ४ सय ६९ कित्ता कर्मचारीको लागि १९ हजार ६ सय ८८ कित्ता सामूहिक लगानी कोषको लागि छुट्याएको र बाँकी रहेको ३ लाख ६८ हजार ५९३ कित्ता सर्वसाधारणको लागि निष्काशन हो ।
लगानीकर्ताले बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङको वेबसाइट र मेरोसेयर एकाउन्टबाट आइपीओको नतिजा हेर्न सक्नेछन् । मानुषी लघुवित्तको वेबसाइट तथा सीडीएस एन्ड क्लियरिङले आईपीओ रिजल्ट हेर्न बनाएको वेबसाइट बाट पनि रिजल्ट हेर्न सकिनेछ ।
कम्पनीको हाल कायम चुक्तापूँजी ७ करोड रहेको छ भने आईपीओ बाँडफाँडपछि चुक्ता पूँजी १० करोड ९३ लाख पुग्नेछ ।