हाइड्रो भिलेजमा एचआइडिसिएलले २० प्रतिशत सेयर लगानी गर्ने

काठमाडौं । म्याग्दीस्थित ५७.३ मेगावाटको म्याग्दी खोला जलविद्युत् आयोजनाको प्रवद्र्धक हाइड्रो भिलेज प्रालिमा हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) ले २० प्रतिशत स्वपुँजी लगानी गर्ने भएको छ ।

स्वपुँजी लगानीको दायरालाई फराकिलो बनाउँदै लैजाने तथा सार्वजनिक निजी साझेदारी (पीपीपी) अवधारणाअनुसार एचआईडीसीएलले उक्त कम्पनीमा लगानी गर्ने निर्णय गरेको हो ।

लगानीसम्बन्धी सम्झौतामा एचआईडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतम र हाइड्रो भिलेजका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले हस्ताक्षर गरेका छन् ।

एचआईडीसीएलको ११ वर्षको लगानी यात्रामा स्वपुँजी लगानी गरेको यो चौथो आयोजना रहेको प्रमुख कार्यकारी अधिकृत गौतमले बताए । निजी क्षेत्रका यस्तै अन्य आकर्षक आयोजनामा पनि लगानी गर्दै जाने बताउँदै उनले भने, ‘कम्पनीले तोकिएको समयभित्र आयोजनाको निर्माण पूरा गर्नेमा हामी विश्वस्त छौं ।’

अब आयोजनामा हाइड्रो भिलेज, एचआईडीसीएल र मलेसियन कम्पनीको स्वामित्व रहनेछ । एचआईडीसीएलले सुझाएजस्तै तोकिएको समयमै निर्माण पूरा गरी बिजुली उत्पादन गर्न कम्पनीले तत्परताका साथ काम गर्ने कम्पनीका अध्यक्ष थापाले प्रतिबद्धता व्यक्त गरे ।

साथै, अहिले आयोजनास्थलसम्म पहुँच पुग्नेगरी सडक निर्माणको कार्य भइरहेको कम्पनीको प्रबन्ध निर्देशक सुशील पोखरेलले बताए । धवलागिरि हिमालको आधार शिविरनजिकै निर्माण हुने हुँदा यो आयोजनाले पर्यटकीय महत्त्व पनि बोकेको उनले बताए ।

म्याग्दीको धवलागिरि गाउँपालिकाको बगरमा निर्माण हुने यो नदी प्रवाही आयोजनाको ३ वर्ष अगाडि नै नेपाल विद्युत् प्राधिकरणसँग विद्युत् खरिद सम्झौता (पीपीए) भएको थियो ।

आयोजनाबाट वार्षिक ३३ करोड ४० लाख युनिट (३३४ गिगावाट घन्टा) विद्युत् उत्पादन हुने अध्ययनले देखाएको छ । आयोजनाबाट उत्पादित विद्युत् विद्युत्गृहदेखि १३२ केभी डबल सर्किट प्रसारण लाइनमार्फत १७ किलोमिटर टाढा प्राधिकरणको डाँडाखेत सबस्टेसनमा लगेर जोडिने जनाइएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स