जलविद्युत कम्पनीको सेयर आवश्यकताभन्दा बढीले बढ्यो, सेयर किन्दा लगानीकर्ताले ध्यान दिनुपर्ने १६ सूचक यस्ता छन्

काठमाडौं । नेप्सेमा सूचिकृत जलविद्युत कम्पनीहरुको सेयर मूल्य अस्वाभाविक वृद्धि भएको विद्युत नियमन आयोगले चासो देखाएको छ । विद्युत नियम आयोगले बिहीबार सूचना जारी गर्दै सेयर बजारमा जलविद्युत कम्पनीको सेयर आवश्यकताभन्दा बढीले बढेका लगानीकर्तालाई सचेत गराउन खोजेको छ ।

विगत केही समयदेखि विभिन्न पत्रपत्रिका, सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा केही विद्युत् कम्पनीका प्रबर्द्धकले सेयर मूल्यमा अस्वभाविक वृद्धि गराउने क्रियाकलापमा संलग्न भएको भन्दै आफ्नो ध्यानाकर्षण भएको जनाएको हो ।

‘कुनै पनि विद्युत् सम्बन्धी कम्पनीको सेयरमा लगानी गर्ने वा नगर्ने भन्ने सम्बन्धमा लगानीकर्ता स्वयमले नै सम्बन्धित प्रबर्द्धक कम्पनी वा आयोजनाको आधारभूत अवस्थाको अध्ययन नै गरी निक्र्यौल गर्नुपर्ने बजारको सिद्दान्त हो । सूचिकृत कम्पनीले जानकारी वा विवरण सार्वजनिक गर्दा सत्य तथा निष्पक्ष जानकारी प्रेसित गर्नुपर्ने सम्बन्धित कम्पनीको जिम्मेवारी हो,’ आयोगले भनेको छ ।

साथै जानाजान लगानीकर्तालाई झुक्याउने तथा बहकाउने प्रयोजनले त्रुटीपूर्ण सूचना प्रवाह गर्ने प्रवर्द्धक एवम् उत्पादक कम्पनीविरुद्ध आवश्यक कारवाही चालिने सूचनामा उल्लेख छ ।

सेयर किन्नु अघि के हेर्ने ?

१. कम्पनीको नेटवर्थ चुक्ता पुँजीभन्दा कम भए/नभएको ।

२. शेयरको बजार मूल्य र प्रति शेयर आम्दानीको अनुपात कम भए/नभएको ।

३. चालु सम्पत्ति र चालु दायित्वको अनुपात धेरै भए/नभएको ।

४. तरलता अनुपात धेरै भए/नभएको ।

५. निर्माणाधीन आयोजनाको हकमा कार्य प्रगति धेरै भए/नभएको ।

६. निर्माणाधीन आयोजनाको विद्युत प्रवाह गर्ने नेपाल विद्युत प्राधिकरणको प्रसारण लाइनको कार्य प्रगति हेर्दा त्यो प्रसारण लाइन आयोजनाभन्दा ढिला सम्पन्न नहुने देखिएको/नदेखिएको ।

७. आयोजनाको कार्य प्रगतिको हिसाबले ब्यापारिक उत्पादन गर्नु पर्ने मितिसम्म आयोजनाको निर्माण हुनसक्ने/नसक्ने ।

८. आयोजनाले बैंक तथा वित्तीय संस्थाको ऋणको किस्ता वा ब्याज समयमा तिरिरहेको/नरहेको ।

९. आयोजनाको सञ्चित मुनाफा अधिक रहे/नरहेको ।

१०. विगतमा कम्पनीले उचित लाभांश वितरण गर्ने गरेको/नगरेको ।

११. कम्पनीको व्यवस्थापनसँग विद्युत क्षेत्रको राम्रो अनुभव भएको/नभएको ।

१२. आयोजनाले पूर्ण क्षमतामा विद्युत उत्पादन गरिरहेको/नगरिरहेको ।

१३. कम्पनीको लेखा परिक्षण प्रतिवेदनमा लेखा परीक्षकको नोटमा लेखिएको बँदाहरू ।

१४. आयोजनाको प्रति मेगावाट लागत अन्य कम्पनीका आयोजनासँग तुलनीय रहेको/नरहेको ।

१५. ऋण तथा स्व–पुँजीको अनुपात ।

१६. कम्पनीले लिएको ऋणको ब्याज दर उच्च रहेको/नरहेको ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स