‘प्रतिपक्षले अर्थतन्त्रको विषयमा नकारात्मक धारणा व्यक्त गर्दा त्यसको प्रभाव सेयर बजारमा’

लगानीकर्ता श्रेष्ठ

प्रमुख प्रतिपक्ष राजनीतिक दलले नेपालको अर्थतन्त्रको विषयमा नकारात्मक धारणा व्यक्त गर्दा त्यसको प्रभाव सेयर बजारमा देखिएको हो । नेकपा एमालेका पूर्व अर्थमन्त्रीहरुले पनि पत्रकार सम्मेलन गरेर नेपालको अर्थतन्त्र नाजुक अवस्थामा रहेको टिप्पिणीहरु गरेका छन् । यस्तै पूर्व प्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपीले पनि सार्वजनिक कार्यक्रममै सरकारसँग कर्मचारी र वृद्ध भत्ता दिने पैसा नभएको दावी गरेका छन् । धेरैले आर्थिक संकटसँग जुझिरहेको श्रीलंकाकै हालतमा नेपालको अर्थतन्त्र जानेतर्फ पनि संकेत गरेका छन् । अर्थतन्त्र र मुलुककै बागडोर समालिसकेका व्यक्तिहरुबाट देशको अर्थतन्त्रको बारेमा नकारात्क टिप्पणी हुँदा त्यसको स्वभाविक असर सेयर बजारमा पर्छ । अहिले भएको पनि त्यही हो ।

विगतमा पनि चैत महिनामा पुँजी बजार केही घट्ने नै गरेको थियो । आर्थिक वर्षका तेस्रो त्रैमास सकिने समय भएकाले बैंकको ब्याज तिर्ने रकम जोहो गर्नेहरुका कारण पनि बजार घट्ने गथ्र्यो । साथै, बैंक तथा वित्तीय संस्थासँग तरलताको अभाव छ । यसले पनि बजारलाई सघाउ पुग्न सकेको छैन । उच्च राजनीतिक नेतृत्वबाट अर्थतन्त्रको विषयमा नकारात्मक भनाइ आउँदा लगानीकर्तामा त्रास देखिएको छ । पुँजी बजारमा त्यही हल्लाको प्रभाव देखिएको हो ।
अर्थतन्त्र खत्तम नै हुन्छ कि भन्ने लगानीकर्तामा एक प्रकारको मनोवैज्ञानिक डर पनि पैदा भएको छ । जसले गर्दा लगानीकर्ताहरु आफूसँग भएको पैसा सेयर बजारमा लगाउन डराइरहेका छ ।

अर्थमन्त्रीले पनि पत्रकार सम्मेलन आयोजना गरेर अर्थतन्त्र धरासायी नभएको स्पष्टिकरण दिइसकेका छन् । बैंकहरुले पनि बैशाख महिनामा ब्याजदर नबढाउने सहमति गरेका छन् । यस्तै मुलुक निर्वाचनको संघारमा रहेको छ । वैधानिक संयन्त्रमा नदेखिएको रकम पनि निर्वाचनको समयमा बाहिर आउने छ । यसले केही हदसम्म भए पनि तरलताको समस्या समाधान हुनेछ । सेयर बजारका विरोधीका रुपमा देखिएका गभर्नर निलम्बनमा परिसकेका छन् । पुँजी बजारका लागि सकारात्मक माहोल निर्माण भइरहेको छ । लगानीकर्ताहरु पनि बजार कहिले बढ्न भनेर फर्क र हेरौं भन्ने अवस्थामा छन् । अबको एक दुई दिन भित्रमा बजार फर्किएमा नयाँ रेकर्ड बन्ने छ ।

(सेयर लगानीकर्ता नरेन्द्रमान श्रेष्ठसँग पुँजी बजारको विषयमा हाम्रोअर्थले कुराकानी गरेको सम्पादित अंश)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स