पवनका छोरा अक्षय गोल्यानले ठूलो परिमाणमा सेयर बेच्दा पहिरो

काठमाडौं । उद्यमी तथा व्यवसायी पवन गोल्यानका छोरा अक्षय गोल्यानले ठूलो परिमाणमा सेयर बेच्दा बजारमा पहिरो गएको छ । सुरुवाती कारोबारमा बजार केही माथि गएको देखिए पनि कारोबार समय बढ्दै जाँदा सेयर बजार घट्न थाल्यो ।

यसको कारण रहेछ, उद्यमी घरानाले ठूलो परिमाणमा सेयर बिक्री गर्नु । सेयर बजारका विपक्षमा रहेका नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई सरकारले निलम्बन गरेसँगै धेरैले बजार बढ्ने आस गरेका थिए । अधिकारीले सेयर धितो कर्जामा ४/१२ को सीमा तोक्दा त्यसको प्रभाव स्वरुप सेयर बजार निरन्तर रुपमा ओरालो लाग्न थालेको थियो । लगानीकर्ताको विभिन्न समूह गभर्नरको राजीनामा माग गर्दै आन्दोलन पनि गर्दै आएका थिए । लगानीकर्ताको माग सम्बोधन हुँदा पनि बजार बढ्न सक्नुलाई ठूला सेयर बजारका जानकारहरुले ठूला लगानीकर्ताको चलखेलका रुपमा बुझेका छन् ।

एक ब्रोकरका अनुसार अक्षय गोल्यानले ४३ नम्बर ब्रोकर (साउथ एशिया बुल्स प्रालि)बाट ठूलो परिमाणमा सेयर बिक्री गर्दा बजारमा गिरावट आएको दावी गरे ।

‘अक्षय गोल्यानले ४३ नम्बरबाट सेयर कारोबार गर्दै आइरहेका छन् । आज एक्कासी गोल्यानले ठूलो परिमाणमा सेयर बिक्री गरेको देखिएको छ,’ नाम उल्लेख नगर्ने सर्तमा ती ब्रोकरले भने, ‘उनले सेयर बिक्री गर्दा त्यसको प्रभाव बजारमा देखिएको हो ।’

उनका अनुसार अक्षयले नेपाल लाइफ इन्स्योरेन्स, एनआईसी एसिया बैंक, नेशनल लाइफ इन्स्योरेन्स, प्रमु लाइफ इन्स्योरेन्सलगायत कम्पनीको सेयर बिक्री गरेका छन् ।

उनका अनुसार गोल्यानले आज मात्रै १५ करोड रुपैयाँभन्दा बढीको सेयर बिक्री गरेका छन् ।

आज नेपाल लाइफ इन्स्योरेन्सको कुल १६ करोड ५२ लाख ८० हजार रुपैयाँ बराबरको १ लाख ७४ हजार कित्ता सेयर खरिद बिक्री भएको छ ।

४३ नम्बर ब्रोकरले मात्रै ९ करोड ४७ लाख ६८ हजार रुपैयाँ बराबरको १ लाख ३६१ कित्ता सेयर ब्रोकर ४३ ले बिक्री गरेको छ ।

एनआईसी एसिया बैंकको कुल ६ करोड ८६ लाख ८८ हजार रुपैयाँ बराबरको ९१ हजार ५५२ कित्ता सेयर खरिद बिक्री भएको छ । ४३ नम्बर ब्रोकरले एनआईसी एसिया बैंकको ४ करोड ७८ लाख रुपैयाँ बराबरको ६३ हजार ९६२ कित्ता सेयर बिक्री गरेको छ ।

नेशनल लाइफ इन्स्योरेन्सको कुल १ करोड २९ लाख ८१ हजार बराबरको १६ हजार ५०७ कित्ता सेयर खरिद बिक्री भएको छ । ४३ नम्बर ब्रोकरले नेशनल लाइफ इन्स्योरेन्सको ५२ लाख ९८ हजार रुपैयाँ बराबरको ६ हजार ७७९ कित्ता सेयर बिक्री गरेको छ ।

आज नेप्से ४४.५६ अंकले घटेर २४१९.८० विन्दुमा आईपुगेको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स