काठमाडौं । उपकार लघुवित्त वित्तीय संस्थाले निष्काशन गरेको आईपीओमा पहिलो दिनमै माग भन्दा २७ गुणा बढी आवेदन परेको छ ।
शुक्रबार ५ बजेसम्ममा ५ लाख ७ हजार १९८ आवेदनबाट ५९ करोड ९ लाख ९८ हजार रुपैयाँ बराबरको ५९ लाख ९ हजार ९८० कित्ता सेयरको लागि आवेदन परेको सिडिएस एण्ड क्लियरिंङले जनाएको छ ।
यो सर्वसाधारणलाई छुट्टाएको २ लाख २१ हजार १५६ कित्ताको २७ गुणा बढी हो ।
कम्पनीले प्रति सेयर १०० अंकित दरका २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको २ लाख ३६ हजार २ सय ५० कित्ता आइपीओ निष्काशन गरेको हो ।
निष्काशन गरिने कुल सेयरमध्ये ०.५ प्रतिशत अर्थात् ३ हजार २ सय ८१ कित्ता सेयर कर्मचारीहरुको लागि छुट्याईएको छ भने ५ प्रतिशत अर्थात् ११ हजार ८ सय १३ कित्ता सेयर सामुहिक लगानी कोषहरुको लागि बाँडफाँड गरिएको छ । बाँकी रहेको २ लाख २१ हजार १ सय ५६ कित्ताको लागि सर्वसाधारणले आवेदन दिन सक्ने छन् ।
निष्काशन बन्द छिटोमा चैत २९ गते हुनेछ भने ढिलोमा २०७९ वैशाख ९ गते हुनेछ। आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १००० कित्ताको लागि दिन सकिने छ ।
कम्पनीले आईपीओ निष्काशन गर्नको लागि नेपाल एसबिआई मर्चेण्ट बैंकिङलाई बिक्री प्रबन्धक नियुक्त गरेको छ।
नेपाल धितोपत्र बोर्डले चैत्र ७ गते सोमबार कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको हो ।
कम्पनीको मुख्य कार्यालय बाँकेमा रहेको छ । यो लुम्बिनीमा रहेको प्रादेशिकस्तरको लघुवित्त हो ।
हाल लघुवित्तको चुक्ता पूँजी ४ करोड २० लाख रुपैयाँ रहेको छ । सर्वसाधारणलाई २ करोड ३६ लाख २५ हजार रुपैयाँ बराबरको आईपीओ निष्काशन पश्चात चुक्ता पूँजी ६ करोड ५६ लाख २५ हजार रुपैयाँ पुग्नेछ ।