घट्दो बजारमा भुक्तानीमै समस्या, बजार छिट्टै नफर्किए ब्रोकर नै टाट पल्टिने खतरा

काठमाडौं । सेयर बजार निरन्तर ओरालो लागेसँगै त्यसको असर भुक्तानी प्रणालीमा पनि देखिन थालेको छ । लगानीकर्ताले सेयर उधारोमा खरिद गर्ने र समयमै हिसाब मिलान नगर्दा भुक्तानी चक्र नै असन्तुलन हुन पुगेको नेपाल स्टक ब्रोकर एसोसिएसनका अध्यक्ष सन्तोष मैनाली बताउँछन् ।

ब्रोकर कम्पनीहरुले सेयर लगानीकर्ताबाट करिब ३ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी रहेका अध्यक्ष मैनालीले जानकारी दिए । उधारो सेयर कारोबार बढ्दा ब्रोकर कम्पनीहरु नै सञ्चालन हुन नसक्ने अवस्थामा पुगेका छन् ।

‘यकिन रुपमा कति रकम उठ्न बाँकी छ भन्ने तथ्यांक छैन । दैनिक रुपमा उधारो रकम परिवर्तन भइरहन्छ,’ मैनालीले भने, ‘हाल ब्रोकर कम्पनीहरुले लगानीकर्ताबाट करिब ३ अर्ब रुपैयाँ भुक्तानी लिन बाँकी छ ।’

लगानीकर्ताले सेयर खरिद गरेको रकम समयमै भुक्तानी नगर्दा सेयर बिक्री गर्ने लगानीकर्ताले पनि समयमै भुक्तानी पाउन सकिरहेका छैनन् । समान्यतया नेपालको सेयर बजार उधारोमै चलिरहन्छ । लगानीकर्ताले सेयर खरिद गर्नु अघि २५ प्रतिशत रकम अग्रिम भुक्तानी गर्नु पर्ने व्यवस्था छ । सेयर खरिद गरेपछि बाँकी ७५ प्रतिशत रकम भुक्तानी गर्नु पर्ने हुन्छ । तर, लगानीकर्ताले सेयर कारोबार गर्दै गएपछि ब्रोकरहरुले विश्वासका आधारमा अग्रिम भुक्तानी बिनै सेयर खरिदको सुविधा प्रदान गर्ने गर्छन् । जसको मारमा ब्रोकर कम्पनीहरु नै पर्ने गरेका छन् ।

‘बजार बढ्दा लगानीकर्ताले नाफामा सेयर बिक्री गर्ने भएकाले भुक्तानीको समस्या देखिँदैन । तर घट्दो बजारमा लगानीकर्ताले घाटा खाएर सेयर बिक्री गर्न चहाँदैन । जसले गर्दा भुक्तानीको समस्या विकराल हुँदै गइरहेको छ,’ उनले भने, ‘घट्दो बजारमा सेयर खरिद गरेको रकम भुक्तानीका लागि लगानीकर्तासँग सम्पर्क गर्दा फोन नउठाउँने, थप समय माग गर्ने, अन्य वहाना बनाउने गर्छन् ।’

सेयर बिक्री गर्ने लगानीकर्तालाई भुक्तानी दिने पहिलो दायित्व ब्रोकर कम्पनीको हुने गर्छ । ब्रोकर कम्पनीहरुले पनि ऋण गरेको र आफूसँग भएको पुँजी परिचालन गरेर भुक्तानी दिइरहेको अवस्था छ । बजार निरन्तर रुपमा घट्दै गयो भने ब्रोकरलाई अब थप भुक्तानी दिन समस्या पर्ने देखिन्छ । यदि बजार छोटो समयमा फर्कियो भने भुक्तानीको समस्या नहुने उनले बताए ।

यदि लामो समयसम्म सेयर बजार माथि जान सकेन र लगानीकर्ताले भुक्तानी दिएनन भने ब्रोकर कम्पनीहरु डुब्ने खतरा रहेको छ ।

नेपाल इन्भेष्टर फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार घट्दो बजारमा सेयर खरिद गरेर बढ्दो बजारमा बिक्री गरेर ब्रोकरको पैसा तिरैला भनेर उधारो लगानी गर्नेहरुका कारण समस्या देखिएको हो ।

तरलताको अभाव र उच्च ब्याजदरका कारण पनि उधारोमा खरिद गरेको सेयरको रकम तिर्न लगानीकर्तालाई समस्या भइरहेको छ । ब्रोकर कम्पनीले सेयर खरिदकर्तासँग पैसा लिएर बिक्रेतालाई भुक्तानी गर्नु पर्ने हुन्छ । खरिदकर्ताले समयमै भुक्तानी नगर्दा बिक्रेताले पनि आफ्नै पैसा प्राप्त गर्न सकिरहेका छैनन् ।

पछिल्लो समय सेयर कारोबारको भुक्तानी नहुँदा कारोबार रकम पनि निरन्तर रुपमा घटी रहेको रौनियार बताउँछन् । अहिले सेयर बिक्री गर्नेले १०/१५ दिनसम्म भुक्तानी नपाउँदा पनि समस्या भएको उनी बताउँछन् ।

‘सेयर बिक्री गर्यो भुक्तानी अहिले प्राप्त हुन्छ भन्ने ग्यारेन्टी छैन । लगानीकर्ताले बिक्री गरेको रकम समयमा प्राप्त हुन नसकेकोले पनि बजार प्रति विश्वास घट्दै गइरहेको छ,’ रौनियारले भने, ‘बजारलाई चलायमान बनाउन पनि भुक्तानी चुस्त दुरुस्त हुनु पर्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स