‘ऋण लिएर हैन, आफूसँग भएको पैसाबाट सेयर किन्ने उपयुक्त समय हो’

छोटेलाल रौनियार

बैंक तथा वित्तीय संस्थाहरुसँग लगानी योग्य पुँजी (तरलता) अभाव रहँदा त्यसको मारमा पुँजी बजार परेको हो । तरलता अभावले गर्दा कारोबार रकम पनि घटिरहेको छ । विगतमा २२ अर्ब रुपैयाँसम्म कारोबार हुने सेयर बजार पछिल्लो केही दिनमा साढे १, २ अर्बको आसपासमा कारोबार भइरहेको छ ।

साथै, सेयर खरिद गरेको २ दिन भित्रमा राफसाफ गर्नु पर्ने व्यवस्था छ । तर, तरलताको अभावले गर्दा ब्रोकरहरुले समयमा भुक्तानी पाइरहेका छैनन् भने सेयर खरिद गर्ने लगानीकर्तालाई पनि ब्रोकरहरुले भुक्तानी दिन ढिलाइ गरिरहेका छन् । नियम अनुसार टी प्लस टु हुनु पर्ने हो । तर पैसा नहुँदा नियमको पालना भएको छैन ।

राष्ट्र बैंकले अहिले आयातमा कडाई गरिरहेको छ । विलासी वस्तुको आयात तथा सवारी कर्जा नदिन निर्देशन दिएको छ । यो व्यवस्था सेयर बजारका लागि फाइदाजन नै देखिन्छ । तर, सुरुवाती समयमा लगानीकर्तामा यसले मनोवैज्ञानिक त्रास पैदा गरिरहेको छ । श्रीलंकाको अवस्थालाई जोडेर नेपाल पनि त्यस्तै बाटोमा जाने नकारात्मक हल्लाहरु फैलिरहेको छ । नेपालको अर्थतन्त्र पनि नाजुक अवस्थामा रहेकाले श्रीलंकाकै हालतामा जाने हो कि भन्ने डर त्रास पनि पैदा भएको छ । तरलता अभाव, श्रीलंकको अवस्था र नकारात्मक हल्लाको प्रभाव पुँजी बजारमा देखिएको हो ।

डरका बीचमा पनि लगानीकर्ताहरुले ठूलो संख्यामा सेयर बिक्री गरेका छैनन् । सेयर खरिद तथा बिक्री गर्ने दुवैको संख्या कम छ । यसले गर्दा डेढलक जस्तो भयो । यो भनेको बजार बढ्नका लागि राम्रो अवस्था हो । ब्याजको पैसा हैन, आफूसँग भएको पैसाबाट सेयर किन्ने यो उपयुक्त समय हो । अहिले सस्तिएको सेयर किन्न सकिए भोलि महँगोमा बिक्री गरेर राम्रो आम्दानी गर्न सकिन्छ ।

नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार

अहिले बजार ब्याजले घटेको हैन । विगत २ महिनादेखि ब्याजदर पनि बढेको छैन । सेयरका लागि बैंकबाट नयाँ कर्जा लगानी भएको छैन । ४/१२ ले पनि कर्जा लिएर सेयर खरिद गर्नेको संख्या कम भइरहेको छ । गत आवमा बैंक तथा वित्तीय संस्थाले १ खर्ब ६ अर्ब सेयर धितो कर्जा प्रवाह गरेका थिए । माघसम्म सेयर धितोकर्जाको रकम घटेर ९८ अर्ब ६२ करोडमा झरेको छ । लगानीकर्ताले सेयर धितोकर्जाको रकम भुक्तानी गरिसकेकाले पनि ब्याजदरको प्रभाव धेरै रहँदैन । सेयर सम्बन्धी न्युन ज्ञान र सेयरमा लगानी गर्दा एकै पटक धेरै प्रतिफल प्राप्त हुन्छ भनेर बजारमा बसेका नयाँ लगानीकर्ताहरु अहिले बिक्री गरेर बाहिरिरहेका छन् ।

सेयरका बादशाह वारेन्ट बफेटले पनि भन्ने गर्छन् ‘रेड जोनमा सेयर खरिद गर ताँकी ग्रिन जोनमा मजा लिन पाउँछौं ।’ नेपालमा उल्टो छ । हरियोमा किन्छन् रातोमा बिक्री गर्छन् । सेयर शिक्षा नपुगेकाले पनि यस्तो भएको हो ।

मौद्रिक नीतिको समीक्षा, देशको राजनीतिक अवस्था र श्रीलंकाको आर्थिक अवस्थाका कारण विगत ६, ७ महिनादेखि लगानीकर्ता डराएर बसेको अवस्था छ । बैशाखदेखि पुँजीगत खर्च बढ्नुका साथै आयातमा प्रतिबन्ध गर्दा बजारमा तरलता बढ्छ । एलसी नियन्त्रण गरिएकाले हुन्डीबाट पनि पैसा कम जान्छ । शतप्रतिश मूल्य राख्नु पर्ने भएकाले अन्डर इनभ्वाइस (न्युन बिजिकरण) हुन पाउँदैन । न्युन बिजिकरण नहुँदा रेमिट्यान्स पनि बढ्न सक्छ । क्रिप्टोकरेन्सीको लगानीमा कडाई गर्दा त्यहाँ हुने भुक्तानी पनि घट्छ । निर्वाचन पनि संघारमै रहेका छ । यसबाट पनि ठूलो रकम बजारमा प्रवाह हुन्छ । चैतमा जस्तै बैशाखमा पनि ब्याजदर बढेन सेयर बजारका लागि सकारात्मक माहोल निर्माण हुन्छ ।

साथै सरकारले पनि पुँजी बजार सुधारका लागि सम्बन्धित क्षेत्रका जानकारहरुसँग राय सुझाव माग गरिरहेको छ । यसले पनि पुँजी बजारलाई दीर्घकालीन सहयोग पुर्याउँने नीति निर्माण तर्फ सरकारको ध्यान केन्द्रित भइरहेको बुझ्न सक्छ । केही सुखद समाचार आएमा बजारले पनि आफ्नो लय समात्ने छ ।

(नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियारसँग हाम्रोअर्थले गरेको कुराकानीको सम्पादित अंश)

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स