बैंक तथा वित्तीय क्षेत्रमा विद्यमान उच्च ब्याजदरका कारण सेयर बजार खस्केको हो । ब्याजदर र सेयर बजारको प्रत्यक्ष सम्बन्ध रहन्छ । ब्याजदर बढ्दा सेयर बजार घट्छ भने ब्याजदर घट्दा सेयर बजार बढ्छ । एक वर्ष अघिसम्म ब्याजदर सिंगल डिजिटमा थियो । त्यसको प्रभाव स्वरुप सेयर बजारमा उत्साजनक कारोबार भइरहेको थियो ।
ब्याजदर वृद्धि हुँदा लगानीकर्ताले सेयर बजारबाट उच्च प्रतिफल हासिल गर्न सक्दैनन् । बैंकमा पैसा राख्दा सुरक्षित हुनुका साथै ब्याजबाट प्राप्त हुने प्रतिफल पनि सुनिश्चित हुन्छ । ठूला लगानीकर्ताहरुले कर्जा लिएर पनि सेयरमा लगानी गरेका हुन्छन् । बढ्दो ब्याजदरमा लगानीकर्ताको खर्च बढ्न जान्छ ।
बैंक तथा वित्तीय संस्थासँग लगानी योग्य पुँजी (तरलता) कम भएकाले पनि ब्याजदर बढी रहेको छ । तरलता बढ्दा ब्याजदर कम हुन्छ । तरलताको अभाव र उच्च ब्याजदरको असर नेपाली सेयर बजारमा देखिएको हो ।
बीमा समितिले बीमा कम्पनीहरुको पुँजी वृद्धि गर्ने निर्णय गरेसँगै अस्थायी रुपमा सेयर बजार बढ्ने विश्वास गरिएको थियो । तर उच्च ब्याजदर र तरलता अभावको कारण बजार बढ्न सकेको छैन । पुँजी वृद्धिका लागि बीमा कम्पनीहरुले हकप्रद जारी गर्ने, उच्च लाभांश दिने र मर्जरमा जाने सम्भावना रहन्छ । हकप्रद र लाभांश घोषणा हुँदा पनि कम्पनीहरुको सेयर मूल्य बढ्ने गरेको छ । एउटा लगानीकर्तासँग कुनै कम्पनीको ५ सय रुपैयाँ सेयर छ भने पुँजी वृद्धिका लागि हकप्रद जारी गर्दा सय रुपैयाँ खरिद गर्न पाइन्छ । महँगो सेयर सस्तोमा खरिद गरेर पछि बिक्री गर्दा फाइदा हुन्छ भनेर हकप्रद जारी हुँदा सेयर मूल्य बढ्ने छ ।
बीमा कम्पनीको पुँजी वृद्धिको घोषणा हुनु अघि जलविद्युतको सेयरमा चर्चा रहेको छ । अन्य क्षेत्रको तुलनामा दोस्रो बजारबाट खरिद गरिएको जलविद्युतका लगानीकर्ताले धेरै प्रतिफल प्राप्त गर्दैनन् । त्यसैले मैले जलविद्युतको सेयरमा लगानी गर्ने गरेको छैन । जलविद्युत भनेको जोखिम पूर्ण व्यवसाय पनि हो । वाढी पहिरोले परियोजनालाई कुनै पनि समय पिरोल्न सक्छ । साथै नेपालमा हाइड्रोलोजिको राम्रोसँग अध्ययन पनि भएको छ । क्यू ४० मा डिजाइन गरिएको जलविद्यूतबाट क्यू २५ पनि उत्पादन हुँदैन । हिउँदमा २५ प्रतिशत पनि उत्पादन हुँदैन । जलविद्युतको कुल क्षमताको ४० प्रतिशत मात्र हिसाब गरिएको हुन्छ । भविष्यमा पनि जलविद्युतको सेयर धेरै आकर्षक होला जस्तो लाग्दैन । एउटा सामान्य सिद्धान्त के छ भने सेयर बजारबाट प्राप्त हुने रिर्टन बचतको ब्याजदरभन्दा धेरै हुनु पर्छ । अहिले बचतको ब्याजदर बढेर ८ प्रतिशत पुगेको छ । पहिले ३, ४ प्रतिशत थियो । दोस्रो बजारमा खरिद गरिएको जलविद्युतको सेयर वार्षिक रुपमा ८ प्रतिशतको रिर्टन दिन्छ जस्तो लाग्दैन ।
दोस्रो बजार सँधै जोखिम पूर्ण
दोस्रो बजार सँधै जोखिम पूर्ण नै रहेको हुन्छ । बजार कहिले बढ्छ वा घट्छ भनेर कसैले पनि भविष्यवाणी गर्न सक्दैनन् । सेयर बजारमा दैनिक कारोबार गर्ने खेलाडीहरुको पनि चलखेल हुन्छ । सेयर बजार भनेको अनुमान र उतारचढाव हो ।
सेयर बजारमा बलियाले आफ्नो स्वार्थको सेयर कहिले उचाल्छ र कहिले पछार्छन । यस्तो खेल भइरहन्छ । सेयर बजारमा पैसावाल र साना साना लगानीकर्ता पनि खेलेका हुन्छ । सेयर बजारमा आफ्नो स्वार्थका लागि वक्तव्य दिएर बढाउने र घटाउने खेल संसार भर चलेको हुन्छ । सेयर बजारमा उतारचढाव हुनु नौलो कुरा हैन । सेयर बजारमा सेन्टिमेन्ट र इमोसनले पनि ठूलो उतारचढाव ल्याउँछन् । सरकारको वक्तव्य, कम्पनीको आधिकारी व्यक्तिको वक्तव्यबाट सेयर बजार प्रभावित भइरहेको छ । तेलको मूल्य बढ्यो भने सेयर बजार बढ्छ । अहिले यूक्रेन र रुसको युद्धका कारण सेयर बजार घटेको छ । यूद्ध रोकिँदा सेयर बजार फेरी बढ्न सक्छ । धेरै कुराले सेयर बजारलाई प्रभावित पारिरहेको हुन्छ ।
सरकारको नीति र लगानीकर्ताको मनोविज्ञानले नै सेयर बजार घट्ने बढ्ने हुन्छ । सेयर बजार भनेको कुनै पनि देशको आर्थिक अवस्थाको एैना हो । विदेशी लगानीकर्ताले सेयर बजार कतिको बलियो भनेर हेरिराखेका हुन्छन् । सेयर बजार भनेको मुलुकको आर्थिक प्यारामिटर हो । मुलुकको दीर्घकालीन हितका लागि सेयर बजार उत्साजनक र राम्रो हुनु पर्छ ।
(लगानीकर्ता शशिकान्त अग्रवालसँग हाम्रोअर्थले गरेको कुराकानीको सम्पादित अंश)