ब्रोकरहरुको मिलोमत्तोमा घटाइयो बजार

काठमाडौं । साताको पहिलो दिन नेप्सेमा भारी गिरावट देखिएको छ । बीमा समितिले गत बिहीबार बीमा कम्पनीहरुको पुँजी बढाउने निर्णय गरेसँगै लगानीकर्ताले आइतबार बजार बढ्ने अपेक्षा गरेका थिए । तर, त्यसको ठिक विपरित आज बजारमा भारी गिरावट देखिएको छ ।

नजिकिँदो निर्वाचन र बीमा कम्पनीको पुँजी वृद्धि लगायत बजार बढ्नका लागि सकारात्मक परिस्थिति पैदा भइरहेको छ । तर त्यसको ठिक विपरित आइतबार सेयर बजार घटाइएको एक लगानीकर्ता बताउँछन् । आजको घटाई स्वभाविक नभएर कृतिम भएको उनको दावी छ ।

‘पुँजी वृद्धिका कारण आज बीमा कम्पनीको सेयर बढ्ने धेरैले विश्वास लिएका थिए । तर सुरुवाती समयमा बीमा कम्पनीको सेयर बढेको थियो,’ ती लगानीकर्ताले भने, ‘तर केही घटेर कारोबार बन्द भएको छ ।’

नेपाल धितोपत्र बोर्ड सेबोनले ब्रोकरहरुको व्यवसाय खोस्न खोज्दा सकारात्मक माहोलका बीच पनि बजार घटाइएको हो । ब्रोकरहरुले आफूसँग कारोबार गर्ने ठूला लगानीकर्ताहरुलाई प्रभावमा पारेर सेयर बिक्री गर्न लगाउँदा बजार घटेको हो ।

सेबोनका नवनियुक्त अध्यक्ष रमेश हमालले विभिन्न फोरममा ब्रोकर कमिसिन घटाउने र नयाँ ब्रोकर कम्पनी खोल्ने अभिव्यक्ति दिँदै आइरहेका छन् । गत साता ब्रोकरहरुसँगको भेटमा पनि अध्यक्ष हमालले सो कुरा दोहोराएका थिए । यसबाट ब्रोकरहरु रुष्ट बन्ने थिए । यसको बदला सेबोनसँग कसरी लिन सकिन्छ भन्ने दाउमा रहेका ब्रोकरहरुले बजार घटाएर आफ्नो प्रतिशोध साध्न खोजेका हुन् ।

सेयर बजार घट्दा कारोबार कम हुने र ब्रोकर कमिसन घटाउने कुरा नहुने भएकाले बजार बढाउन भन्दा पनि घटाउन ब्रोकरहरु लागि परेको ती लगानीकर्ता बताउँछन् ।

आज नेप्से ४१.४३ अंकले घटेर २५७२.२३ विन्दुमा आईपुगेको छ । नेप्से १.५९ प्रतिशतले घटेको हो । बजार घट्दा पनि आज धेरै समय पछि करिब ५ अर्ब रुपैयाँको कारोबार भएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स