नेपालको अर्थ व्यवस्थामा पनि पुँजी बजारको अपरिहार्यता स्थापित भइसकेको छ भन्ने कुरा औद्योगिक र पूर्वाधार विकासका लागि पुँजी जुटाउन विभिन्न आयोजनाहरुले पुँजी बजारबाट पुँजी उठाएबाट नै पुष्टि हुन्छ।
सेयर बजारको पूर्वाधार सुधारमा सरकार निराशावादी हुनु, उत्पादनमूलक क्षेत्रलाई बजारमा प्रवेश गराउन नसक्नुलगायतकै कारण अर्थतन्त्रले उचित लाभ लिन नसकेको अवस्थामा समाजलाई रुपान्तरण गर्न सक्ने केही व्यक्तिले ‘धनीले अझ कमाए गरिब झन् गरिब भए, बैंक निकै धनी भयो, यसलाई अब नियन्त्रणमा राख्नु पर्दछ’ या “सेयर बजार साम्राज्यवादको विकसित रूप हो’ भन्नेजस्ता पुँजी बजारको महत्व नबुझी बहुलट्ठी पूर्ण कुरा गर्ने नेताहरुले अब आर्थिक विकासको एक-एक खुड्किलो उक्लन बामे सर्ने प्रयास गर्दै गरेको हाम्रो देशको पुँजी बजारलाई विशेष प्राथमिकताको क्षेत्रमा राख्नु आवश्यक छ।
यहाँ मैले देश र समाजलाई समेत असर गर्ने पुँजी बजारका केही राम्रा र नराम्रा पक्षको विश्लेषण गर्ने प्रयास गरेको छु।
राम्रा पक्षहरु
अनुत्पादक कार्यमा लगानी कम हुने
अहिले हाम्रो देशको अर्बौं विदेशी मुद्रा सुन–चाँदीजन्य गरगहना र अन्य बिलाशिताका सामान जस्ता अनुत्पादक चिज खरिद गर्न खर्च भइरहेको छ (दुबईबाट मात्र २०१९÷२०२० मा ९.२८ अर्बको सुन आयात भएको छ भने अन्य देशबाट पनि यसै प्रकारले आयात भएको मान्न सकिन्छ।) जब कि त्यही रकम अन्य उत्पादक क्षेत्रमा लगानी गरेर केही समयमै राम्रो नाफा कमाउन सकिन्छ। अहिले लगानीकर्ताले प्राय यस्ता चिजमा खर्च कम गरी त्यो रकम लगानी गर्नेतिर सदुपयोग गरेको पाउँदछौँ।
परिवारको आर्थिक स्थिति मजबुत बनाउन मद्दत मिल्ने
आम मानिसको जीवनस्तर उठाउन सेयर बजारले मद्दत गरेको छ। ६ जनाको जुम्लाको एक परिवारलाई परेको निफ्राको जम्मा ३०० कित्ता सेयर भन्नाले आजको मूल्य अनुसार रु. १ लाख १३ हजार १०० आम्दानी हो। यो आम्दानीले उनीहरुको जीवनमा धेरै नै सकारात्मक प्रभाव परेको छ। जम्मा रु. ३० हजार लगानी गरेर रु१ लाख १३ हजार १०० नाफा कमाउनु या जिबन बिकाश जस्तो कम्पनिमा रु १००० लगानी गरेर रु ५५००० कमाउनु त्यो जुम्लाको परिवारका लागि सायद वर्षदिनको कमाइ भएकोले एकदम ठूलो कुरा हो।
यसैगरी समय–समय खुल्ने गरेको आईपीओले समेत नेपालका गाउँ–गाउँमा रहेका कयौँ व्यक्तिलाई आफ्नो घर चलाउन ठूलो मद्दत गरेको छ।
आर्थिक गतिविधि बढाई उद्यमशील हुन प्रेरित गर्दछ
तथ्यांकले बजारमा अहिले १० लाख मानिस संलग्न देखाउँछ। तीमध्ये १० प्रतिशत मानिसले सेयर बजारबाट कमाएको रकम अन्य व्यवसायमा लगाउँछ भनेपनि यसले आर्थिक गतिविधि बढाउँछ। सेयर बजार पुँजी संकलन गर्ने स्थानका रुपमा मानिन्छ। व्यवसायीहरु ले कुनै काम अगाडि बढाउन पुँजी आवश्यक परेमा सेयर जारी गरेर रकम संकलन गर्न सक्छन् तर बाध्यात्मक अवस्थामा बाहेक नेपाली सेयर बजारमा पुँजी उठाउन भनेर व्यवसायीहरु आएका देखिँदैन। यसैको परिणाम सेयर बजार न त अर्थतन्त्रको ऐना बन्न सकेको छ न ठूलो पुँजी निर्माणको क्षेत्र। त्यसैले सरकारी रुपमा राम्रो नीति बनाएर नै अगाडि ल्याए ठूला उद्योगकर्तालाई नयाँ–नयाँ उद्योग स्थापना गर्न प्रोत्साहन गर्दछ। बुक बिल्डिङ बिधिबाट सेयर निष्कासन गर्दा फाइदा हुने हुँदा उद्योगीहरु सेयर मार्केटबाट फाइदा लिन नयाँ उद्योग खोल्न प्रेरित हुन्छन्। यसका साथै कुनैपनि ठूला निजी कम्पनीले पुँजी तथा व्यापार विस्तारका लागि आफ्नो निजी कम्पनीलाई पब्लिक कम्पनीमा रुपान्तर गर्दा सर्वसाधाराणलाई समेत फाइदा हुने देखिन्छ।
स्वरोजगार हुन मद्दत मिल्ने
कोभिडपछिको दूई वर्षमा डिम्याट खाता खोल्नेको संख्या ७ लाखबाट ४५ लाख पुगेको छ अर्थात् थप ३८ लाख व्यक्तिले स्वरोजगार वा अर्धरोजगारी पाएका छन्। अहिले सरदर १० लाख मानिसले प्रत्यक्ष रुपमा दिनहुँ सेयर कारोबार गर्दछन्। तीमध्ये धेरै व्यक्तिले सेयर बजारलाई नै आफ्नो मुख्य व्यवसाय बनाउँदै लगिरहेको देखिन्छ। सेयर बजारको प्रवर्द्धन नेपालजस्तो देशका लागि त अझ अपरिहार्य जस्तै छ। किनकि यहाँ रोजगारीको अवसर कम छ। मानिस विदेशमा श्रम तथा शरीर दुवै बेच्न बाध्य छन्। २५÷२६ वर्षे युवा अहिले बजारमा प्रवेश गरी कम से कम आफ्नो पढाइ खर्च त धानिरहेका छन्। यसले गर्दा सरकारलाई बढ्दो जनसंख्याका लागि रोजगारीको नयाँ अवसर खोज्ने भारसमेत धेरै नै कम भएको छ।
पारदर्शी व्यवसाय भएकोले राजस्व ज्यादा आउने
यो पारदर्शी व्यवसाय हो। सरकारलाई अन्य क्षेत्रमा जस्तो करमा छली यसमा नहुने भएकोले कर ज्यादा आउने। गत आर्थिक वर्ष पुँजी बजारबाट १४ अर्ब राजस्व उठ्यो। पहिलेको तुलनामा कारोबार रकम अहिले तत्काल घटेको देखिएपनि भोलि त बढ्ने नै देखिन्छ र यदि बैंकलाई ब्रोकर लाइसेन्स दिई गाउँ–गाउँमा समेत ब्रोकरको सुविधा पुर्याई ब्रोकर कमिसन अझ घटाउने हो भने कारोबार रकम सजिलै दैनिक ३५÷४० अर्बको हाराहारीमा हुने देखिन्छ। यसो हुँदा राष्ट्रलाई अझ थप राजस्व उठ्छ र कारोबार संख्या बढेकोले कमिसन दर घट्दा पनि ब्रोकरको आम्दानीमा फरक नपरी अझ वृद्धि हुने देखिन्छ।
सामूहिक भावनाको विकास
सेयरको कारोबार एक्लै गर्न प्राय असजिलो हुन्छ। धेरै कुरा अन्यसँग सोध्नुपर्ने, बुझ्नुपर्ने हुन्छ। अहिले मानिसहरु स–सानो समूह बनाएर कार्य गर्ने प्रचलन बढेकोले मानिसमा सामूहिक भावना बढेर जाने सम्भावना रहन्छ।
काम नभएर दिनभरि चोकमा बसेर तास खेल्ने, कुलतमा फस्ने, रक्सी खाई झै–झगडा गर्नेको संख्यासमेत कम हुन्छ। किनकि मानिस एकपटक बजार प्रवेश गरेपछि अध्ययन अनुशन्धानमा ध्यान दिनुपर्ने हुँदा त्योसँग अरु बेकारका कामका लागी समय नै हुँदैन।
नराम्रा पक्षहरु
हरेक कुराको दुईवटा पाटा हुन्छन्। त्यस्तै सेयर बजारको पनि केही फाइदा छन् त केही बेफाइदापनि छन्। यहाँ धेरै जोखिमपनि छ। सेयर बजारमा राम्रो पक्ष मात्र हुन्छ नाफा नै कमाइन्छ भन्ने कुनै ग्यारेन्टी नभएकोले नियामक निकायले यसको बिकृति नियन्त्रणका लागी केही कठोर कदम चाल्नुका साथै लगानीकर्ताले जहिलेपनि नराम्रो पक्षलाई मध्यनजर गर्दै आफूले कमाउने नाफाभन्दा हुन सक्ने नोक्सानीतर्फ ज्यादा सचेत रहनुपर्दछ।
अन्य उत्पादनशील क्षेत्रमा असर
सेयर बजारको पनि अन्य लागूपदार्थ जस्तै नशा हुन्छ। हातमा पैसा छ भने लगानी गरिहालूँ जस्तो लागीरहन्छ। चाँडै पैसा कमाउने लोभ र श्रम कम पर्ने भएकोले कृषि, व्यापार तथा अन्य उद्योग धन्दा छाडेर यसमै लगानी गर्नेको संख्यापनि बढेर गएकोले यसले अन्य क्षेत्रमा लगानीको वातावरणलाई बिगार्न सहयोग गर्दछ।
देशको अर्थतन्त्रमा पर्न सक्ने असर
देशका ठूलठूला संस्था, कम्पनी तथा यसका प्रमुख व्यक्तिहरु पनि आफ्नो कामले होइन सेयर कारोबारले धनी बन्ने सपना बोकेका कारण त्यस्ता संस्था र कम्पनीको कामबाट लक्षित वर्गले जुन फाइदा पाउनुपर्ने थियो, त्यसबाट वञ्चित हुनुका साथै यस्ता संस्था तथा कम्पनी भोलिका दिनमा घाटामा जाने या डुब्ने हुन् कि भन्ने आशंका गर्ने प्रशस्त आधारहरु छन्। यस्तो भएको खण्डमा आमनेपालीको रोजगारीका साथै देशको आर्थिक क्षेत्र नै धराप हुने अवस्थामा पुग्दछ।
परिवार नै विस्थापित हुन सक्ने खतरा
लगभग ८० प्रतिशत लगानीकर्ता सेयर बजारमा सट्टेबाजीको नियतले प्रवेश गर्छन्। उनीहरु कहिले उच्च कमाउँछन् त कहिले जोखिममा नै पर्दछन्। अरुले लगानी गरेर नाफा लिएको सुन्दा र देख्दा लाग्दछ कि पैसा कमाउन एकदम सजिलो रहेछ तर यहाँ घाटाको सम्भावना पनि ज्यादा नै रहन्छ। कमाउँदाको आनन्दभन्दा गुमाउँदाको पीडा कयौँ गुणा बढी हुन्छ। त्यसैले आफ्नो क्षमताभन्दा बढी लगानी गरे लगानी डुब्नेमात्र नभई भोलि आफ्नो आर्थिक र पारिवारिक अवस्थामा पनि कठिनाइ आउन सक्ने हुन्छ।
सेयर बजार धेरै तत्वबाट निकै प्रभावित हुने संवदेनशील प्रकृतिको बजार हो। सामान्यतया देशको समग्र आर्थिक, सामाजिक र राजनीतिक अवस्थासमेत यसको परिसूचकमा प्रतिविम्बित हुने गर्दछ। सेयर बजारको परिपक्वतासँगै यसको गतिशीलता र आकारमा पनि तीव्र रुपमा वृद्धि हुँदै जान्छ।
पछिल्लो समयमा कोभिडको लम्बिँदो संक्रमणका कारण अर्थतन्त्रको अन्य परिसूचकहरू स्थिर र सकारात्मक नदेखिएपनि नेपालको सेयर बजार तुलनात्मक रुपमा गतिशील देखिएको छ। यसलाई अझ परिपक्व बनाउन बजारमा हुने गरेका हरेक प्रकारको अस्वस्थ्य खेल रोक्न नियामक निकाय लाग्नुपर्नेमा केहि पहिले नियामक निकाय प्रमुख स्वयं नै यस्तो खेलमा संलग्न हुँदा के यो देशमा ठूलाले जे गर्दा नि छुट पाउने हो भन्ने प्रश्न पनि उब्जिएको छ।
(लेखक राजेश कार्की विगत १० वर्षदेखि पुँजी बजारमा सक्रिय छन्)