सेयर कारोबारी ५० लाख कटे

काठमाडौं । धितोपत्र बजारमा सर्वसाधारणको सहभागिता पछिल्लो समय उत्साहजनक रूपमा बढ्दै गएको देखिएको छ । गत आर्थिक वर्षको असारसम्ममा करिब ३७ लाखको संख्यामा रहेको हितग्राही खाता (डिम्याट खाता) चालू आवको फागुन १६ गतेसम्म ५० लाख नाघेको छ ।

सिडिएस एन्ड क्लियरिङ लिमिटेडले सार्वजनिक गरेको पछिल्लो विवरणअनुसार हाल डिम्याट खाता खोल्नेको संख्या ५० लाख सात हजार दुई सय ४२ पुगेको छ । त्यस्तै, डिम्याट खाताका साथै मेरो सेयर खाताको संख्यासमेत बढेको छ । सिडिएसका अनुसार मेरो सेयरको संख्या ४१ लाख नाघेको छ । विवरणअनुसार पछिल्लो समय डिम्याट र मेरो सेयर खाताको संख्या उल्लेख्य बढेको देखिन्छ ।

गत असार मसान्तसम्म २८ लाख ५५ हजार रहेको मेरो सेयरको संख्या ४१ लाख १९ हजारभन्दा बढी रहेको छ । त्यस्तै, नेपाल धितोपत्र बोर्डबाट अनुमतिप्राप्त गरी सर्वसाधारण लगानीकर्तालाई केन्द्रीय निक्षेप सेवा सहज बनाउन तथा सेयरको अभिलेखीकरण कार्य गर्न निक्षेप सदस्यका रूपमा सेवा प्रवाह गर्ने सदस्यको संख्या गत आवको अन्त्यमा ७८ रहेकामा सार्वजनिक पछिल्लो तथ्यांकअनुसार त्यस्तो सदस्य संख्या ८२ पुगेका छन् ।

धितोपत्र बजारमा धितोपत्रको कारोबारका साथै प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)को आवेदनमा समेत डिम्याट खाता अनिवार्य भएकाले यस्ता खाता खोल्ने क्रम बढेको धितोपत्र बोर्डको बुझाइ छ ।

प्राथमिक बजारतर्फ प्राथमिक निष्कासन, हकप्रद निष्कासन, ऋणपत्र तथा सामूहिक लगानी योजना गरी सबै निष्कासन अनुमति रकममा उच्च बढोत्तरी आएको छ । कम्पनीको आईपीओ निष्कासनमा भाग लिनेको संख्या उल्लेख्य बढ्नुले धितोपत्र कारोबारमा सर्वसाधारणको सहभागिता बढेको पुष्टि हुन्छ । पछिल्लो समय कम्पनीले निष्कासन गर्ने आइपिओमा २५ लाखभन्दा बढीले आवेदन भर्दै आएका छन् ।

प्रविधिको विकास र विस्तारले धितोपत्र बजारमा कारोबार गर्नेको संख्या बढेको बोर्डले उल्लेख गरेको छ । बोर्डलगायत धितोपत्र बजारसम्बद्ध निकायहरूबाट बजारलाई प्रविधिमैत्री, लगानीमैत्री एवं देशव्यापी बनाउन विभिन्न काम भएका छन् । बोर्डबाट धितोपत्रको पूर्ण अभौतिक कारोबार हुने व्यवस्था, नेप्सेको कारोबार अनलाइनबाट हुने व्यवस्था, प्राथमिक बजारमा आस्वा तथा सि-आस्वा प्रणाली लागू, उपत्यकाबाहिर धितोपत्र दलाल तथा मर्चेन्ट बैंकरको शाखा विस्तार गर्नका लागि आवश्यक नीतिगत व्यवस्थाहरू गरेसँगै बजारमा सर्वसाधारणको सहभागिता व्यापक तथा उत्साहजनक रहेको बोर्ड बताउँछ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स