काठमाडौं । राष्ट्र उत्थान लघुवित्त वित्तीय संस्थाको आईपीओमा २० लाखभन्दा बढी आवेदन दिएका छन् । सिडिएस एण्ड क्लियरिङका अनुसार आज शुक्रबार साँझ साढे ५ बजेसम्ममा २० लाख ६७ हजार ४४३ जना आवेदकबाट २ अर्ब ४१ करोड ६८ लाख ६४ हजार रुपैयाँ बराबरको २ करोड ४१ लाख ६८ हजार ६४० कित्ता सेयरको लागि आवेदन परेको हो ।
लघुवित्तले फागुन ४ गतेदेखि लघुवित्तले जारी पुँजी २६ करोड रुपैयाँको ३२.६९ प्रतिशतले हुन आउने ८ करोड ५० लाख रुपैयाँ बराबरको ८ लाख ५० हजार कित्ता सेयर निष्काशनमा ल्याएको थियोे ।
त्यसमध्ये ०.५ प्रतिशत आर्थत १३ हजार कित्ता सेयर कर्मचारीहरूलाई र ५ प्रतिशत अर्थात ४२ हजार ५०० कित्तासेयर सामुहिक लगानी कोषका लागि सुरक्षित गरी बाँकी रहने ७ लाख ९४ हजार ५०० कित्ता सेयरमा सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।
लघुवित्तको आईपीओमा प्रतिसेयर १ सय रुपैयाँका दरले न्यूनतम १० कित्तादेखि त्यसभन्दा बढीको लागि १० अंकले भाग जाने संख्यामा अधिकतम १ हजार कित्तासम्मको लागि आवेदन दिन सकिनेछ । नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आश्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरू र मेरो शेयरको वेव तथा एप मार्फत पनि कम्पनीको आईपीओमा आवेदन दिन सकिनेछ ।
लघुवित्तको आईपीओमा पहिलो दिनमै माग भन्दा बढी आवेदन परेकोले फागुन १३ गतेसम्ममा आवेदन दिन सकिनेछ । लघुवित्तको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक एनआईबिएल एस लिमिटेड रहेको छ भने प्रत्याभुतकर्ता प्रभु क्यापिटल लिमिटेड रहेको छ ।
सर्वसाधारणलाई ८ करोड ५० रुपैयाँ बराबरको आईपीओ निष्काशनपछि लघुवित्तको चुक्ता पुँजी २६ करोड रुपैयाँ पुग्नेछ ।