म्युचुअल फण्ड र सामूहिक लगानीकर्ताले खरिद बढाउँदा सेयर बजारमा उछाल

काठमाडौं । पुसको पहिलो सातदेखि सेयर बजार उकालो यात्रामा लम्किएको छ । पुस ६ गतेदेखि उकालो यात्रामा समाएको नेप्से एक महिनाभन्दा कम अवधिमा ४७५ अंकले बढी सकेको छ । पुस ६ गते २३६८.८१ अंकबाट कारोबार सुरु भएको नेप्से पुस २७ गतेसम्म आइपुग्दा २८३४.१३ अंकसम्म पुगिसकेको छ ।

गत सातासम्म नेप्से सुचकमा उछाल देखिए पनि करोबार रकम भने त्यस्तो उत्साजनक देखिएको थिएन । तर यो साताको पहिलो ३ दिन कारोबार रकम पनि सुधार उन्मुख देखिएको छ । यो साताको आइतबार र सोमबार ७ अर्ब रुपैयाँ माथिको कारोबार भएको थियो । आज अर्थात मंगलबार पौने ७ अर्बको कारोबार भएको छ ।

म्युचुअल फण्ड र सामूहिक लगानीकर्ताले सेयर खरिद बढाउँदा पछिल्लो समय पुँजी बजार बढ्दै गएको एक ब्रोकर बताउँछन् । नेप्से माथिल्लो विन्दुमा सेयर बिक्री गरेर बसेका म्युचुअल फण्ड र सामुहिक लगानीकर्ताहरु पछिल्लो समय बजारमा निस्कृय जस्तै थिए । उनीहरुले नेप्से सूचक २६ भन्दा तल ओर्लिए पछि सेयर खरिद बिक्री कम गर्दै लगेका थिए । तर, पछिल्लो समय कोराना संक्रमण दर बढेसँगै खरिदलाई पनि बढाएका छन् ।

कोरोनाको प्रकोप बढेसँगै मुलुकमा पुन लकडाउन हुन सक्ने सम्भावना पनि रहन्छ । यसले गर्दा लगानीका लागि अन्य क्षेत्र उपयुक्त हुँदैन । नेप्सेमा सूचीकृत कम्पनीहरुको लाभांश घोषणा भएसँगै मूल्य समायोजन भएर सेयर सस्तो भएको छ ।

राम्रो कम्पनीको सेयर सस्तो मूल्यमा उठाउन पाउँदा म्युचुअल फण्ड र सामूहिक लगानीकर्ताले सेयर खरिदलाई बढाएका हुन् । म्युचुअल फण्ड र सामूहिक लगानीकर्ताले राम्रो कम्पनीको सेयर सस्तो मूल्यमा खरिद गर्दा पनि बजार बढेको देखिन्छ । यदि मुलुकमा पुन लकडाउनको अवस्था आयो भने सेयर बजारमा थप नयाँ लगानीकर्ता प्रवेश गर्ने सम्भावना पनि उच्च रहन्छ । अहिले किनेको सेयर केही समय होल्ड गर्दा राम्रो नाफा कमाउने आशमा म्युचुअल फण्ड र सामुहिक लगानीकर्ताले बिक्री बढाइरहेका छन् ।

ती ब्रोकरका अनुसार म्युचुअल फण्ड र सामुहिक लगानीकर्ताले विगतमा राम्रो लाभांश दिइरहेका कम्पनीमा लगानी बढाइरहेका छन् । ‘यस्ता कम्पनीमा लगानी गर्दा जोखिम कम हुन्छ । यदि मुलुकमा लकडाउन भएन भने पनि ती कम्पनीको सेयर मूल्यमा खासै गिरावट आउँदैन,’ ब्रोकरले भने, ‘मूल्य केही तलमाथि भएछ भने पनि लाभांशबाट घाटा पुर्ती हुन्छ ।’

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स