नेप्से सीईओमा श्रेष्ठ, भण्डारी र कार्कीको नाम सिफारिस, अर्थमन्त्रीको रोजाइमा को ?

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) को प्रमुख कार्यकारी अधिकृत (सीइओ) नियुक्तीका लागि तीन जनाको नाम सिफारिस भएको छ । अर्थ मन्त्रालयले गठन गरेको छनोट तथा सिफारिस समितिले हिजो आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका पाँच जना मध्ये तीन जनाको नाम सिफारिस गरेको हो ।

नेप्सेको सीईओ छनोट समितिको सिफारिसमा डा. केशव श्रेष्ठ र डा. रमेशकुमार भण्डारी र कृष्णबहादुर कार्की परेका छन्। यो सिफारिस सहित हिजो आइतबार व्यावसायिक कार्ययोजनाको प्रस्तुतीकरण तथा अन्तरवार्ता दिएका प्रविण पन्दाक, रमेश घिमिरे भने बाहिरिएका छन् । डा. श्रेष्ठ डा. भण्डारी र कार्कीमध्येबाट एक जना सीईआ बन्ने छन् ।

छनोट समितिले सिफारिस गरेका तीन जनाको नाम अर्थमन्त्रीले मन्त्रिपरिषदको बैठकमा पेश गर्नेछन्। र तीन मध्ये एक जनालाई मन्त्रिपरिषदको बैठकले आगामी ४ वर्षका लागि नेप्सेको प्रमुख कार्यकारीमा नियुक्ति गर्नेछ ।

सर्वोत्तम सिमेन्टको सेयर खरिद प्रकरणमा मुछिएकाले नेप्सेका तत्कालिन सीईओ चन्द्र सिंह साउदले सीईओ पदबाट राजीनामा दिएपछि नेप्से कायम मुकायमको भरमा चलिरहेको छ। नेप्सेको सीईओ पदको लागि ११ जनाले आवेदन दिएका थिए ।
पछिल्लो समय मन्त्री परिषद्मा एक अर्काको मन्त्रालयललाई हस्तक्षेप नगर्ने सहमति भएको छ । यसको अर्थ जो अर्थमन्त्री शर्माको नजिक छ उसैलाई नेप्सेको सीईओ बन्ने अवसर मिल्नेछ । यसरी सरसर्ती हेर्दा अर्थमन्त्रीका निकट मानिएका कार्की आगामी ४ वर्षको लागि नेप्सेको सीईओ बन्ने सम्भावना बढेको छ ।

ऊर्जा जलस्रोत तथा सिंचाइ मन्त्रालय अन्तर्गतको बुढीगण्डकी जलविद्युत आयोजनाको वातावरण, मुआब्जा वितरण, पुनर्वास तथा पुनस्र्थापना इकाई को संयोजक रहेका कृष्ण बहादुर कार्की अर्थमन्त्री जनार्दन शर्मा निकट भएकाले नेप्सेको सीईओमा उनको सम्भावना बढी रहेको अर्थ मन्त्रालय स्रोतको दाबी छ ।

बुढी गण्डकी आयोजनाको उक्त इकाईको संयोजकमा पनि अर्थमन्त्री जनार्दन शर्माले नै कार्कीलाई सिफारिस गरेकाले नेप्सेमा पनि उनैले चौका मार्ने देखिएको छ ।

नेप्सेमा सीईओ नियुक्तिका लागि अर्थ मन्त्रालयका सहसचिव रमेश केसीको संयोजकत्वमा सिफारिस समिति गठन गरिएको छ । समितिमा मन्त्रालयकै सहसचिव रितेश शाक्य र विज्ञ सदस्यमा नेप्सेका पूर्वअध्यक्ष जीवनाथ धिताल छन् । सिफारिस समितिले सोमबार बिहान तीन जनाको नाम अर्थमन्त्री जनार्दन शर्मालाई बुझाएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स