तीन कम्पनीको सर्किट ब्रेकसहित नेप्से परिसूचक करिब २७ सय विन्दुमा पुग्यो

काठमाडौं । यस साता नेप्से परिसूचक साढे ६ प्रतिशतभन्दा बढी बढेको छ । गत साता २५२४.५० विन्दुमा बन्द भएको नेप्से, यस साता ६.६५ प्रतिशत अर्थात १६७.९७ अंक बढेर २६९२.४७ विन्दुमा पुगेका हो । यो बजार खुलेको ५ कारोबार दिनमध्ये ४ कारोबार दिन उकालो लाग्दा नेप्से परिसूचक पनि बढेको हो ।

नेप्से उकालो लागेपनि यस साता दैनिक औषत कारोबार रकम भने गत साताको तुलनामा घटेको छ । गत साता दैनिक औषतमा ४ अर्ब ३८ करोडको सेयर खरिदबिक्री भएको बजारमा यस साता ४ अर्ब २५ करोडको मात्र सेयर कारोबार भएको छ ।

यस साता कारोबार रकम घटेपनि औषत कारोबार संख्या र औषत सेयर संख्या बढेको छ । यस साता दैनिक औषत कारोबार संख्या ०.६७ प्रतिशत बढेको छ भने औषत सेयर संख्या ८।९६ प्रतिशत बढेको छ ।

यस साता नेप्सेको कुल बजार पुँजीकरण ६।६२ प्रतिशत बढेको छ । गत साता ३५ खर्ब ६७ अर्ब रुपैयाँ रहेको नेप्सेको यस्तो पुँजीकरण यस साता २ खर्ब ३६ अर्ब रुपैयाँ बढेर ३८ खर्ब ३ अर्ब रुपैयाँ पुगेको छ ।

साताको अन्तिम कारोबार दिन बिहीवार नेप्से परिसूचक अघिल्लो कारोबार दिनको तुलनामा ४३ दशमलव २९ अंकले बढेको छ ।

यो दिन नेप्से परिसूचक २ हजार ६९२ दशमलव ४७ विन्दुमा पुगेको हो । यो दिन कारोबारमा आएका २३८ ओटा धितोपत्रको ७३ लाख ३६ हजार ३३४ कित्ता सेयर ४८ हजार १६१ पटकमा ३ अर्ब ६७ करोड ६८ लाख ४६ हजार ३४९ रुपैयाँमा खरीद वक्री भएको छ ।

कारोबारमा आएका ती धितोपत्रहरु मध्ये तीन ओटा कम्पनीको मूल्यमा सकारात्मक सर्किट लागेको छ । नेपाल फाइनान्स र तेह्रथुम पावर कम्पनीको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा १० प्रतिशत र मध्य भोटेकोशी जलविद्युत् कम्पनीको सेयरमूल्य ९ दशमलव ९९ प्रतिशत वृद्धि भएसँगै सकारात्मक सर्किट लागेको हो ।

यो दिन नेपाल फाइनान्सको सेयरमूल्य प्रतिकित्ता ५७५ दशलमव ३०, तेह्रथुम पावरको ४९३ दशमलव ९० र मध्य भोटेकोशी जलविद्युत कम्पनीको रू।२३५ दशमलव ६० पुगेको छ ।

यो दिन बिहीवार एनबिबिएल डिबेञ्चर २०८५ को मूल्य अघिल्लो कारोबार दिनको तुलनामा ३ दशमलव ५३ प्रतिशत घटेको छ । डिबेञ्चरको मूल्य प्रतिकित्ता१ हजार ४० कायम भएको छ ।

त्यसैगरी विशाल बजार कम्पनीको सेयरमूल्य अघिल्लो कारोबार दिनको तुलनामा आज २ दशमलव १५ प्रतिशत घटेर प्रतिकित्ता ५ हजार ९० रुपैयाँमा झरेको छ । यो दिन सर्वाधिक सेयर खरीदबिक्री अपि पावर कम्पनीको भएको छ । उक्त कम्पनीको १६ करोड ३७ लाख ६ हजार रुपैयाँ बरावरको सेयर खरीदविक्री भएको छ । कम्पनीको सेयरमूल्य प्रतिकित्ता ४९१ रुपैयाँ कायम भएको छ ।

त्यसैगरी दोस्रोमा एनआईसी एशिया बैंकको १४ करोड ५२ लाख १९ हजार बराबरको सेयर खरीदबिक्री भएको छ । कारोबारमा आएका १३ ओटा समूहमध्ये व्यापार समूहको परिसूचक शून्य दशमलव ६८ प्रतिशत र उत्पादन तथा प्रशोधन समूहको परिसूचक शून्य दशलमव शून्य ८ प्रतिशतले घटेको छ भने बाँकी सबै समूहको परिसूचक बढेसँगै समग्र नेप्से परिसूचक बढेको छ ।

समूहगत परिसूचक बढ्नेमा सबैभन्दा बढी अर्थात होटल एण्ड टुरजिम समूहको परिसूचक ३ दशमलव ४८ प्रतिशतले वृद्धि भएको छ ।

त्यसैगरी बैकिङ समूहको परिसूचक १ दशमलव ९५ प्रतिशत, विकास बैंक समूहको १ दशमलव ९३ प्रतिशत, हाइड्रोपावर समूहको २ दशमलव ४८ प्रतिशत, वित्त समूहको १ दशमलव २४ प्रतिशत, निर्जीवन बीमा समूहको २ दशमलव शून्य ५ प्रतिशत, अन्य समूहको १ दशमलव शून्य ३ प्रतिशतले वृद्धि भएको छ ।

यसैगरी लघुवित्त समूहको १ दशमलव शून्य ३ प्रतिशत,जीबन बीमा समूहको शून्य दशमलव ७८ प्रतिशत,म्युचुअल फण्डको शून्य दशमलव ६४ प्रतिशत र लगानी समूहको परिसूचक १ दशमलव ९६ प्रतिशतका दरले वृद्धि भएको हो ।

बुधवार समान्य करेक्सन भएको बजार बिहीवार भने वृद्धि भएको छ । माघ महीना लागेसँगै सूचीकृत कम्पनीहरुले चालु आवको दोस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गर्नेछन् । यसले गर्दा पनि बजारलाई थप बढ्न टेवा मिल्ने देखिएको छ ।

पुस मसान्त आउनै लाग्दा बजार तल झर्ने हो कि भन्ने धेरैको अनुमान विपरीत बजारले योदिनबाट सकारात्मक माहोल बनाएको जस्तो देखिएको छ । तथा अर्थ मन्त्रालय तथा राष्ट्र बैंकले पछिल्ला दिनहरुमा नीतिगत सुधार गरेका कारण पनि लगानीकर्ताहरूको आत्मबलमा सुधार हुँदै गएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स