दुई कम्पनीको सयेर समायोजन, कहिले गर्दैछन् साधारणसभा ? 

काठमाडौं । पुस २२ गते, बिहीबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयरमूल्य समायोजन भएको छ । यस दिन नेप्सेमा श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स र गुहेश्वरी मर्चेन्ट बैंक एण्ड फाइनान्सको सेयरमूल्य समायोजन भएको हो ।
साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ यी फाइनान्सले बुककलोज गरेसँगै नेप्सेले सेयरमूल्य समायोजन गरी नयाँ मूल्य निर्धारण गरेको हो ।

यस दिन नेप्सेले श्री इन्भेष्टमेन्टको ७.७० प्रतिशत र गुहेश्वरीको १० प्रतिशत बोनस शेयर समायोजन गरेको हो । समायोजनपश्चात श्री इन्भेष्टमेन्ट फाइनान्सको शेयरमूल्य ४४१ रुपैयाँ ९७ पैसा र गुहेश्वरी मर्चेन्टको ४५४ रुपैयाँ ४५ पैसा कायम भएको छ ।

नेप्सेले अघिल्लो कारोबार दिनको अन्तिम मूल्यका आधारमा यी फाइनान्सहरुको सेयरमूल्य समायोजन गरेको हो । अघिल्लो कारोबार दिन अर्थात बुधबार, दोस्रो बजारमा श्री इन्भेष्टमेन्टको सेयर प्रतिकित्ता ४७६ रुपैयाँ र गुहेश्वरी मर्चेन्टको ४९९ रुपैयाँ ९० पैसामा अन्तिम कारोबार भएको थियो ।

बिहीबार यही समायोजित मूल्यलाई आधार मानेर यी कम्पनीहरुको सेयर कारोबार खुल्नेछ ।

श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सले पुस २९ गते बिहान ११ बजे कम्पनीको रजिष्टर्ड कार्यालय डिल्लीबजार, काठमाडौंमा २७ औं वार्षिक साधारण सभा बोलाएको छ ।

सभाले गत आर्थिक वर्षको मुनाफाबाट प्रस्तावित ७.७० प्रतिशत बोनस सेयर र ३.३० प्रतिशत नगद गरी ११ प्रतिशत लाभांश पारित गर्नेछ । लाभांश वितरण पश्चात बैंकको जारी पूँजी तथा चुक्ता पूँजी वृद्धि हुने भएको कम्पनीको प्रबन्धपत्र तथा नियमावली पनि संशोधन गर्न स्वीकृत गर्नेछ । सभाले संस्थापक सेयर स्वामित्व पनि परिमार्जन गर्ने प्रस्ताव पनि पारित गर्नेछ ।

यस्तै, सभाले कुनै पनि बैंक तथा वित्तीय संस्थाहरुलाई मर्जर वा प्राप्ति गर्ने गराउने प्रयोजनको लागि सहमति तथा सम्झौता लगाएको काम गर्न सञ्चालक समितिलाई अख्तियारी दिनेछ ।

त्यसैगरी, गुहेश्वरी मर्चेण्ट बैंकिङ एण्ड फाइनान्स लिमिटेडले हाल कायम चुक्ता पूँजीको १० प्रतिशतका दरलेको बोनस सेयर र सोको कर प्रयोजनार्थ ०.५२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको थियो ।

सोही लाभांश प्रस्ताव पारित गर्न फाइनान्सले पुस २९ गते, गुहेश्वरी भवन, हरिहर भवन, ललितपुरमा २० औं वार्षिक साधारण सभा डाकेको छ । सो सभा बिहान ११ बजे शुरु हुनेछ ।

सभाले लाभांश प्रस्तावका साथै अन्य उपयुक्त वित्तीय संस्थाहरुसँग मर्जर अथवा एक्विजिशनसम्बन्धि कार्य गर्न र फाइनान्सको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पारित गर्नेछ ।

 

 

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स