सेयर बजारको नकारात्मक समय सकियोः नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार

काठमाडौं । पुँजी बजारमा यो साता उछाल देखिएको छ । साताको पहिलो ३ कारोबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसुचक १५५ अंकले बढेको छ । तीनै दिन नेप्सेमा दोहोरो अंकको वृद्धि र ४ अर्ब रुपैयाँ माथिको कारोबार भएको छ ।
२५८५.९१ अंकबाट साताको सुरुवात भएकोमा पहिलो दिन (आइतबार) नेप्से ६०.४० अंकले बढेको थियो । सोमबार नेप्से ३२ अंकले बढेको थियो भने साताको तेस्रो दिन मंगलबार नेप्से ६३ अंकले बढेर २६७९.९५ विन्दुमा पुगेको छ ।

पुँजी बजारलाई असर गर्ने नकारात्मक गतिविधिहरु सकिएको संकेत नेप्से इन्डेक्समा झल्किएको नेपाल इन्भेष्टर्स फोरमका निवर्तमान अध्यक्ष छोटेलाल रौनियार बताउँछन् ।

माघदेखि पुँजी बजार सकारात्मक दिशामा अघि बढ्ने उनको अनुमान थियो । मध्ये पुसबाटै पुँजी बजार बढ्न थाल्नुलाई उनले पुँजी बजारलाई असर गर्ने नकारात्मक कतिविधिमा कमी आउनुलाई मानेका छन् ।

पुस महिना बैंकहरुको ब्याज र सरकारलाई राजस्व तिर्ने महिना भएकाले पनि माघदेखि बजार बढ्ने उनको बुझाइ थियो । ‘लाभांश घोषणा गरेका राम्रा कम्पनीहरुको मूल्य समायोजन सेयर सस्तो भएको छ । त्यस्ता कम्पनीमा पनि लगानीकर्ताको आकर्षण बढ्दो छ,’ रौनियारले भने, ‘सेयर खरिद चाप पनि बढेको छ ।’

३२ सय विन्दुसम्म पुगेको नेप्से घटेर २३ सयमा पुग्दा धेरै लगानीकर्ता यसलाई सेयर किन्ने अवसरको रुपमा पनि प्रयोग गरेका छन् । ३२ सयको विन्दुबाट हेर्दा बजार अझै ४ सय अंकले तल छ । बजार बढ्ने प्रबल सम्भावना बाँकी नै छ ।
साथै बैंकहरुले पहिलो ४ महिनामा २४ अर्ब रुपैयाँ भन्दा धेरै कमाई गरेको छन् । यसले बैंकको आगामी दिनमा उच्च लाभांश दिन सक्ने क्षमता बढ्ने देखिन्छ ।

अगामी वर्ष मुलुकमा आम निर्वाचन हुँदैछ । अहिलेको सरकार चुनावी सरकार पनि हो । यसले पुँजी बजारलाई दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने नीतिगत व्यवस्था गर्छ भन्ने पनि लगानीकर्ताहरु विश्वस्त देखिएका छन् ।

दोस्रो बाजरमा ११ लाखले अनलाइनबाट सेयर खरिद बिक्री गरिराखेका छन् । ४८ लाख डिम्याट र ३८ लाख मेरो सेयर प्रयोगकर्ता छन् । आईपीओ भर्ने २४ लाख छन् ।

‘दिन प्रति दिन पुँजी बजारमा लगानीकर्ताको आकर्षण बढ्दो छ,’ रौनियारले भने, ‘अनलाइनका माध्यमबाट विदेशमा बसेका नेपालीले पनि लगानी गर्न पाएका छन् ।’ यी सबै कुराले गर्दा सेयर बजार सकारात्मक बाटोमा रहेको देखिने उनी बताउँछन् ।

राष्ट्र बैंकले मौद्रिक नीति मार्फत् गरेका ४/१२ को व्यवस्था, व्याजदर बढ्नु र सीसीडीलाई सीडी गर्दा पुँजीको अभाव हुँदा समस्या देखिएको थियो । यस विषयमा आवश्यक भन्दा बढी नकारात्मक हल्ला हुँदा समस्या भएको उनी दावी गर्छन् ।
नयाँ खुलेका लगानीकर्ता संघहरु पुँजी बजार सुधारका माग राख्न छोडेर राजनीति गर्न थाले । लगानीकर्ताहरुबाट गभर्नर र अर्थमन्त्रीको राजीनामा माग्ने लगायत काम भयो । पछिल्लो समय नो भोट भन्ने अभियान पनि सुरु भएको थियो ।

लगानीकर्ताबाट राजनीति हुनु हुँदैन । त्यो अभियान भनेको पुँजी बजारलाई सुधार गर्ने भन्दा पनि राजनीति प्रतिसोधका लागि अघि सारिएको थियो । यस्ता अभियानले पुँजी बजार विकासका लागि खुलेका संगठनहरुकै बदनाम हुने उनको बुझाइ छ । यस्ता अभियानमा पुराना लगानीकर्ता संगठनहरुको साथ र संगलनाता थिएन । राजनीतिक दाउपेज युक्त अभियानले पुँजी बजारलाई फाइदा नगर्ने उनी बताउँछन् ।

पछिल्लो समय राजनीतिक दलका नेताहरुले पनि पुँजी बजारको विषयमा टिप्पणी गरे । यसले घट्दो बजारलाई आगोमा घिउ छर्कने काम भयो । पुँजी बजार संवेदनशील क्षेत्र हो । उच्च राजनीतिक तहका व्यक्तिको मन्तव्य तथा धारणाले पनि पुँजी बजारमा ठूलो प्रभाव पार्छ । पछिल्लो समय पुँजी बजारको विषयमा उच्च राजनीतिक तहका व्यक्तिबीच जुहारी नै चल्यो । सकारात्मक कुरा आउँदा बजार बढ्ने र नकारात्मक कुरा आउँदा बजार घट्छ भन्ने पनि यी कुराले थप प्रष्ट बनाइ दिएको छ ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स