प्रचण्डले सेयर बजारलाई साम्राज्यवादको विकसित रुप भनेर टिप्पणी गरेपछि यस्तो भयो बजार

काठमाडौं । यो साता १६ अर्ब ११ करोड ९ लाख ३ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको हो । कारोबार रकम घटेसँगै साताको सेयर कारोबार पनि ३० लाख २२ हजार ९५ कित्ता कम भएको छ । गत साता १७ अर्ब ९ करोड ८६ लाख ७० हजार बराबरको सेयर कारोबार भएको थियो ।

बजारका महत्वपूर्ण परिसूचकहरुमा कमी आएको यो साता सूचीकृत कम्पनीहरुको कुल सेयरमूल्य पनि १ खर्ब २ अर्ब ८१ करोड ४४ लाख रुपैयाँले घटेको छ । गत साताको अन्तिम कारोबार दिन ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाख रहेको कुल बजार पूँजीकरण यो साता ३३ खर्ब ४१ अर्ब ४४ करोड ९८ लाखमा झरेको छ ।

गत साता ३ करोड ९५ लाख ६ हजार ९६६ कित्ता सेयर कारोबार भएकोमा यो साता ३ करोड ६४ लाख ८४ हजार ८७१ कित्ता सेयर कारोबार भएको हो ।

गत साता २ हजार ४४९ दशमलव ९७ विन्दुमा रहेको नेप्से परिसूचक यो साता २ हजार ३७६ दशमलव ७४ विन्दुमा बन्द भएको हो । गत साताभन्दा यो साता नेप्से परिसूचक अंकमा भने ७३ दशमलव २३ अंक तल झरेको हो ।

यो साता बजारले ६ प्रतिशतको सकारात्मक सर्किट देख्न पनि कारोकार भने त्यति बढ्न सकेन । पहिलो कारोबार दिन ८८ दशमलव ७३ अंक र दोस्रो दिन ७९ दशमलव ५७ अंक घटेको बजार तेस्रो कारोबार दिन भने ६ प्रतिशत अर्थात् १३७ दशमलव १८ अंकले बढेर कारोबारको करीब साढे २ घण्टाको अवधिमै बन्द भएको थियो ।

उक्त दिन बजार दुई पटक सकारात्मक सर्किट लागेको थियो । त्यस दिन १२ बजेर ३८ मिनेटमा नेप्से परिसूचक ५ प्रतिशतले बढेपछि पहिलो सकारात्मक सर्किट लागेको थियो । पहिलो सर्किटपछि ४० मिनेट बन्द भई खुला भएको बजार ९ मिनेटभित्रै थप एक प्रतिशत बढेपछि पुरै दिनका लागि कारोबार बन्द भएको थियो ।

तेस्रो दिन सकारात्मक सर्किट सहित बन्द भएको बजार चौथो दिन भने ४ दशमलव २३ अंकले घटेर बन्द भएको थियो । साताको अन्तिम कारोबार दिन भने बजार ३७ दशमलव ८७ अंकले घटेको हो ।

बजारमा लगानीयोग्य पूँजीको अभावका कारण बजार प्रभावित भइरहेका बेला आइतवार माओवादीका अध्यक्ष प्रचण्डले एक कार्यक्रममा औधोगिक क्षेत्रमा लगाउनु पर्ने लगानी धितोपत्र बजारमा हुनु भनेको साम्राज्यवादको विकसित रुप भएको टिप्पणी गरेका थिए ।

धितोपत्र दोस्रा बजार सूचनाको जोखिमबीच सञ्चालन हुने भएकाले माओवादी अध्यक्ष प्रचण्डको उक्त अभिव्यक्तिपछि थप प्रभावित बनेको लगानीकर्ताहरूको आरोप छ । बजारले नकारात्मक कुराहरुलाई सहजै स्वीकार गरिसकेका लगानीकर्ता एवम् सेयर ब्रोकरहरूले तरलता अभावकाबीच पनि बैंक तथा वित्तीय संस्थाहरूले ब्याजदर स्थिर राख्नु बजारका लाथि सकारात्मक रहेको टिप्पणी गरेका छन् । यसले लगानीकर्ताहरूमा केही आशा जगाएको छ ।

समग्र परिसूचकको अवस्था

यो साता सबै समूहगत परिसूचक घटेको छ । यो साताको कारोबारमा निर्र्जीवन बीमा समूहका लगानीकर्ताहरुको सम्पत्तिको मूल्य सर्वाधिक घटेको छ । गत साता १० हजार ८२६ दशमलव ७६ विन्दुमा रहेको निर्जीवन बीमाको समूहगत परिसूचक यो साता १० हजार १९८ दशमलव २८ विन्दुमा झरेको हो ।

गत साताभन्दा यो साता निर्जीवन बीमा समूहको परिसूचक ५ दशमलव ८० प्रतिशत घटेको हो । निर्जीवन बीमासँगै विकास बैंक समूहको परिसूचक ५ दशमलव ७८ प्रतिशत घटेको छ ।

त्यस्तै, व्यापारिकको ५ दशमलव ६५ प्रतिशत, बैंकिङको १ दशमलव ४९ प्रतिशत, होटल्स तथा पर्यटनको २ दशमलव ३२ प्रतिशत, जलविद्युतको ३ दशमलव ८७ प्रतिशत घटेको छ । वित्तको २ दशमलव ३९ प्रतिशत, जीवन बीमाको ४ दशमलव ४२ प्रतिशत, म्युचुअल फण्डको शून्य दशमलव ८० प्रतिशत र लगानी समूहको २ दशमलव ९८ प्रतिशत परिसूचक घटेको हो ।

यो साता बजारका समग्र परिसूचकहरु गत साताभन्दा कम भएका छन् । नेप्से परिसूचकसँगै सेन्सेटिभ इन्डेक्स पनि ११ दशमलव ७१ अंकले घटेको छ । गत साता ४६५ दशमलव २४ विन्दुमा रहेको सेन्सेटिभ इन्डेक्स यो साता ४५३ दशमलव ५३ विन्दुमा झरेको हो ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स