काठमाडौं । नेपालको धितोपत्र दोस्रो बजारको सेयर कारोबार घटेसँगै नेप्से परिसूचक र बजार पुँजीकरण दुबै घटेको छ । बजार घटेसँगै लगानीकर्ताहरू चिन्ता व्यक्त गर्दै अर्थ मन्त्रालय धाउन थालेका छन् ।
नेप्से परिसूचक ओलारो लाग्दा सूचीकृत कम्पनीहरूको सेयरमूल्य घट्न गई यसको असर कुल बजार पुँजीकरणमा समेत परेको हो । यो साता ५ दशमलव २७ प्रतिशतले नेप्से परिसूचक घटेको छ भने १ खर्ब ९१ अर्ब ५० करोडले बजार पुँजीकरण पनि घटेको हो ।
यो साता २ हजार ४४९ दशमलव ९७ विन्दुमा नेप्से परिसूचक झरेको छ भने ३४ खर्ब ४४ अर्ब २६ करोड ४२ लाखमा ओर्लिएको छ ।
बजारले ३ हजार २०० विन्दु पार गरेको समयमा कुल बजार पुँजीकरण ४५ खर्ब नजिक पुगेको थियो ।
अघिल्लो सातासम्म कुल बजार पुँजीकरण३६ खर्ब ३५ अर्ब ७६ करोड ४३ लाख रहेको थियो । अघिल्लो साता ५ दशमलव ३३ प्रतिशत घटेको बजार यो साता पनि ५ दशमलव २७ प्रतिशत घटेको छ । अघिल्लो साता २ हजार ५८६ दशमलव १९ विन्दुमा रहेको थियो ।
यो साता पाँच कारोबार दिनमा पहिलो दिन ७२ दशमलव ३२ अंकले घटेको बजार दोस्रो दिन ३२ दशमलव २२ अंकले बढेको थियो । तेस्रो दिनदेखि भने बजार निरन्तर घटेर बन्द भएको छ । तेस्रो दिन ३७ दशमलव १८ अंक, चौथो दिन ५३ दशमलव १० अंक र पाँचौ दिन ५ दशमलव ८४ अंकले बजार घटेको हो ।
यो साताको कारोबारमा नेप्से परिसूचकमा उच्च उतारचढाब देखिएको छ । साताको बजार २ हजार ५९० दशमलव ७५ विन्दुसम्म पुगेको थियो भने २ हजार ४२८ दशमलव ३३ विन्दुसम्म झरेको थियो । परिसूचकमा ५ प्रतिशतभन्दा बढीले कमी आउँदा कारोबार रकम पनि घटेको छ ।
गत साता १९ अर्ब ८ करोड ८७ लाख ८९ हजार बराबरको ३ करोड ९८ लाख १९ हजार ४१९ कित्ता सेयर कारोबार भएकोमा यो साता १७ अर्ब ९ करोड ८६ लाख ७० हजार बराबरको ३ करोड ९५ लाख ६ हजार ९६६ कित्ता सेयर कारोबार भएको छ । गत साताभन्दा यो साता रू. १ अर्ब ९९ करोड ११ लाख ८३ हजार बराबरको ३ लाख १२ हजार ४५३ कित्ता कम सेयर कारोबार भएको हो ।
कारोबार रकममा आएको कमीलाई आधार मान्दा लगानीकर्ताहरूले यो साता सस्तोमा सेयर बेच्न नचाहेको देखिन्छ । बजार निरन्तर घट्दा पनि बजार सुधारका लागि नियामक निकायहरुले कुनै काम नगरेको प्रति लगानीकर्ताहरु भने आक्रोसित बनेका छन् ।
पछिल्लो समय पनि बजार सुधारका विविध माग सहित लगानीकर्ताहरू अर्थ मन्त्रालय धाइरहेका छन् ।
बजार हाल सम्मकै उच्च विन्दुदेखि २३ प्रतिशतभन्दा बढी घटिसकेकाले ४५ लाख लगानीकर्ताहरूको लगानीको सुरक्षाका लागि आवश्यक नयाँ नीतिगत व्यवस्था लागू गर्दै बजार सुधारको लागि पहल गरिदिन लगानीकर्ताहरुले सरोकार समक्ष आग्रह गरेका हुन् ।
यसका लागि बजार सञ्चालक र नियामक निकायमा लामो समयदेखि रित्त रहेको प्रमुखहरुको नियुक्ती प्रकृयालाई पनि सरकारले चाडो टुंगाउन पनि लगानीकर्ताहरूको आग्रह छ ।