ठूला लगानीकर्ताले सेयर धितो कर्जा घटाइसकेका छन्, आतिनु पर्ने अवस्था छैनः लगानीकर्ता एसपी चौलागाई

काठमाडौं । आइतबार नेप्से ८०.२९ अंकले घटेर २६५१.४९ विन्दुमा आइपुगेको छ ।

२३४ कम्पनीको सेयर ७० हजार ८४२ पटक कारोबार भएको छ । १ करोड १९ लाख कित्ता सेयर खरिद बिक्री हुँदा ५ अर्ब ८३ करोड ५१ लाख रुपैयाँको कारोबार भएको छ ।

आज नेप्सेका सबै उपसमूहहरु राता भएका छन् । लाइफ इन्स्योरेन्स उपसमूह ५३८.०३ अंकले घटेको छ । मौद्रिक नीतिको समिक्षाले सेयर बजारलाई प्रभाव पार्ने कुनै निर्णय नगरेकाले पनि बजार घट्नु पर्ने कारण नभएको लगानीकर्ताहरु बताउँछन् ।

मौद्रिक नीतिको समिक्षाले सेयर बजारको विषयमा नबोले पनि केही समूहको स्वार्थका कारण बजार घटेको लगानीकर्ता एसपी चौलागाई बताउँछन् । ३ महिना अघिदेखि नै ठूला लगानीकर्ताले सेयर धितो कर्जा तिर्नलाई आफ्नो सेयर बिक्री गरिसकेका छन् । यसले गर्दा पनि मौद्रिक नीतिको समिक्षामा ४÷१२ को विषयलाई सम्बोधन नगरेकाले मात्रै बजार घटेको मान्न उनी तयार छैनन् ।

‘४÷१२ को विषय सम्बोधन नभएको भन्ने हल्ला फिजाएर बजार तल झारिएको छ । घटेको बजारमा सेयर किन्ने दाउमा ठूला लगानीकर्ता छन्,’ चौलागाईले भने, ‘यसको मारमा पर्ने भनेका साना लगानीकर्ता हुन् ।’

राष्ट्र बैंकले दीर्घकालीन सोच राखेर ल्याएको मौद्रिक नीतिमा रहेको ४/१२ को व्यवस्था थियो । तरलताको अभाव र बढ्दो ब्याजदरका कारण उक्त व्यवस्था तत्काल खारेज हुने सम्भावना पनि कम थियो । विगतमा पनि राष्ट्र बैंकले समिक्षमा मैद्रिक नीति मार्फत् जारी गरेको व्यवस्था उलटपलट हुनेगरी सम्बोधन गरेको थिएन । अहिले पनि त्यस्तै भएको छ ।

‘पुँजीकरणलाई हेर्ने हो भने एक, ढेड प्रतिशत मात्र कर्जा प्रभाव भएको छ । त्यही कर्जालाई देखाएर सेयर बजार घटाउन खोज्ने लगानीकर्ता पनि छन्,’ उनले भने, ‘बजारमा कर्जाको मात्र घट्दै गएकाले बजार बढ्ने निश्चित छ ।’

बैंक तथा वित्त संस्थामा तरलताको अभावका कारण पनि राष्ट्र बैंक ४/१२ को नीतिबाट पछि हट्दैन भन्ने बुझेका ठूला लगानीकर्ता पहिले नै सुरक्षित अवस्थमा बसिसकेका छन् । अब उनीहरुको दाउ भनेको बजार घटाएर सेयर खरिद गर्ने नै हो ।

आजको कारोबारलाई हेर्दा १, २ वटा ब्रोकरमार्फत् बिक्रीको चाप बढेको देखिन्छ । त्यसले गर्दा पनि समग्रमा बजार बिग्रिहाल्ने स्थिति देखिदैन । भोलि पर्सिदेखि नै मार्केट समालिन्छ । सम्भवत २६ सयको लाइनबाट मार्केट तल नजाने उनको भनाइ छ ।

आइतबार ८० देखि ९० अंकसम्मले घट्ने प्राविधिक विश्लेषकहरुको अनुमान थियो । साथै, १५ देखि २७ अंकसम्म बढ्छ भन्ने पूर्व अनुमान गर्ने पनि थिए । १, २ वटा ब्रोकरले उच्च बिक्री गरेकाले बजार घट्न पुग्यो । साना लगानीकर्ताहरु पनि आतिएर बिक्री गरेको अवस्था छैन । २ वटा ब्रोकर बाहेक अन्यले खरिद गरिराखेको अवस्था भएकाले बजार धेरै नघट्ने उनी आशावदी देखिन्छन् ।

प्रतिक्रिया

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here

हेडलाइन्स