काठमाडौं । शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि २५ करोड रुपैयाँबराबरको १०० रूपैयाँ अंकित दरका २५ लाख कित्ता आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले लक्ष्मी सनराइज क्यापिटल लिमिटेडलाई आईपीओ निष्काशन तथा बिक्री प्रबन्धक नियुक्त गरेको छ । उक्त सम्झौतामा लक्ष्मी सनराइज क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बिजय लाल श्रेष्ठ र शिव शंकर हाईड्रो इन्भेष्टमेन्टका तर्फबाट अध्यक्ष खगेश्वर बोहराले हस्ताक्षर गरेका छन् । उक्त सम्झौता कार्यक्रममा शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडका तर्फबाट प्रबन्ध निर्देशक दिपक राज जोशीको समेत उपस्थिति रहेको थियो ।
शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेड, शिव शंकर इन्भेष्टमेन्ट प्रालि र जय गणेश इन्भेष्टमेन्ट प्रालि एक आपसमा गाभिएर स्थापित भएको एक लगानी (इन्भेष्टमेन्ट) कम्पनी हो । जसले मुख्यतया जलविद्युत, पुर्वाधार क्षेत्र र अन्य उत्पादनशील क्षेत्रमा आफ्नो लगानीको दायरा केन्द्रित गरेको छ ।
हाल कम्पनीले सानिगार्ड हाइड्रो लिमिटेड (३८.४६ मेगावाट), कलंगा हाइड्रो लिमिटेड (१५.३३ मेगावाट),बुंगल हाइड्रो लिमिटेड (१०.७ मेगावाट) र भिजन ईनर्जी एण्ड पावर लिमिटेड (५७.५ मेगावाट) नामक जलविद्युत कम्पनीहरुमा लगानी गरेको छ । उल्लेखित कम्पनीहरुमध्ये पहिलो तीन कम्पनीहरु सञ्चालनमा आईसकेको र प्राथमिक सेयर निष्काशनको प्रक्रियाका लागि नेपाल धितोपत्र बोर्डमा दर्ता भईसकेको छ ।
शिव शंकर हाईड्रो इन्भेष्टमेन्ट लिमिटेडले साधारण सेयर निष्काशन पश्चात कम्पनीको चुक्तापुँजी १ अर्ब ५ करोड पुग्नेछ ।