एजेन्सी । भारतीय टीम टी-२० विश्वकपको सुपर १२ बाट बाहिरिएको छ । क्रिकेटको सबैभन्दा धेरै प्रशंसक रहेको टीम भारत नकआउट चरण पुग्न असमर्थ भएसँगै यसको असर टी–२० विश्वकपको व्यापारमा पर्ने देखिएको छ ।
भारत नकआउट चरण नपुग्दा सबभन्दा धेरै मर्कामा विज्ञापन स्लट अग्रिम रुपमा खरिद गरेर बिक्री गर्ने एजेन्सी पर्नेछ । सुपर १२ मा सहभागी देशको कुल जनसंख्या १९९ करोड छ । जसमा भारत एउटैको जनसंख्या करिब १३५ करोड छ । कुल जनसंख्याको ६७ प्रतिशत हिस्सा ओगट्ने टीम सेमिफाइनल नपुगी बाहिरिएको छ ।
प्रतियोगितामा अहिले पनि सेमिफाइनल र फाइनल सहित अझै ५ खेल खेल्न बाँकी छ । भारत छिट्टै प्रतियोगितबाट बाहिरिदा टी–२० विश्वकप खेलको टिभी र डिजिटल भ्यूअरसिप ५० प्रतिशतसम्म घट्ने आशंका गरिएको छ । यसका कारण टिभीमा देखिने विज्ञापनमा करिब १ हजार करोड भारुसम्मको नोक्सानी हुन सक्छ ।
आईसीसी सुरक्षित
भारतीय टीम बाहिरिए पनि आईसीसीलाई भने ठूलो घाटा लाग्ने छैन । आईसीसीले सन् २०१५ देखि सन् २०२३ सम्मको लागि आफ्नो सबै प्रतियोगिताको ब्रोडकास्टिङ तथा डिजिटल राइट्स स्टार इन्डियालाई करिब १४.८ हजार करोड भारुमा बिक्री गरेको छ । यसमा वनडे विश्वकप (सन् २०१५, २०१९ र २०२३), टी–२० विश्वकप (सन् २०१६, २०२१ र २०२२), च्याम्पियन ट्रफी र आईसीसी टेस्ट च्याम्पियनसिप फाइनल रहेको छ ।
स्टार इन्डिया घाटामा हुने छैन, सबै विज्ञापन स्लट बिक्री भइसकेको छ
आईसीसी प्रतियोगिताको हालका लागि आधिकारिक ब्रोडकास्टिङ कम्पनी स्टार इन्डिया भारत बाहिरिए पनि घाटामा हुने छैन । स्टार इन्डियाले चालु टी–२० विश्वकपको विज्ञापन स्लट करिब डेढ दर्जन बाइङ एजेन्सिलाई पहिलै बिक्री गरिसकेको छ । बाइङ एजेन्सी भनेको जसले ब्रोडकास्टर्सबाट विज्ञापनको स्लट खरिद गरेर खेलको दौरान आफ्नो उत्पादनको विज्ञापन देखाउन चहाने कम्पनीलाई बिक्री गर्छ ।
बाइङ एजेन्सिसँग १० देखि १५ प्रतिशत विज्ञापन स्टल छ
भारतीय टीम टी–२० विश्वकपबाट छिट्टै बाहिरिदा यसको ठूलो धक्का बाइङ एजेन्सिमा पर्नेछ । बाइङ एजेन्सिले करिब १० देखि १५ प्रतिशत स्लट भारत सेमिफाइन वा फाइनल पुग्ने आशमा बिक्री नगरि राखेका थिए । यदि भारत सेमिफाइल वा फाइनल पुगेको भए उक्त खालि विज्ञापन स्लट महँगो मूल्यमा बिक्री गर्ने बाइङ एजेन्सिको योजना थियो । अब बाइङ एजेन्सिले सस्तो मूल्यमा ती स्लट बिक्री गर्नुपर्ने हुन्छ ।
भारत बाहिरिएसँग बाइङ एजेन्सिको नाफा करिब ७०० देखि १ हजार करोड भारुसम्म कम हुने अनुमान गरिएको छ । यसको मतलब एउटा बाइङ एजेन्सिको नाफा ३८ देखि ५५ करोड भारुसम्म कम हुनेछ ।
आईसीसीलाई आगामी ४ वर्षका लागि हुन सक्छ घाटा
आईसीसीले ८ वर्षका लागि ब्रोडकास्टिङ/डिजिटल राइट्स बिक्री गर्नेगर्छ । अर्को पटक (सन् २०२४) मा भने आईसीसी ४ वर्षको अवधिका लागि राइट्स बिक्री गर्ने योजनामा छ । आईसीसीलाई आगामी ८ वर्षका लागि हालको भन्दा महँगोमा राइट्स बिक्री नहुने हो कि भन्ने डर छ । यसबाट बच्नका लागि राइट्सको अवधि ४ वर्षमा झार्न खोजिरहेको छ । भारत छिट्टै टी–२० विश्वकपबाट बाहिरिएकाले राइट्सको मूल्य घट्ने सम्भावना छ । यसबाट राइट्सको मूल्य १० देखि २० प्रतिशतसम्म घट्ने अनुमान छ ।